निर्मला हत्याका अर्का आरोपी प्रदीप रावल पनि छुटे

Advertisement

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्न रहेको अनुमान गरिएका दुई युवामध्ये प्रदीप रावल पनि रिहा भएका छन् । अर्का युवा विशाल चौधरीलाई केही दिनअघि प्रहरीले छाडिसकेको छ ।

दुवैले निर्मलाको बलात्कार पनि आफूहरुले हत्या गरेको साविति बयान दिएको प्रहरीले प्रयार गरेको थियो । सरकारकै रक्षामन्त्री इश्वर पोखरेलले समेत निर्मलाका हत्याराहरु पक्राउ परिसकेको भन्दै सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिए पनि उनीहरु पछि निर्दोष भेटिएका थिए ।

रावलको समेत निर्मला हत्या प्रकरणमा संलग्न नरहेको र उनको डीएनए समेत नमिलेपछि प्रहरीले उनलाई रिहा गर्न बाध्य भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको आदेशमा उनी बुधबार दिउसो रिहा भएका हुन्।

रावल गत मंसिर १८ गते महाराजगंजबाट पक्राउ परेका थिए । भीमदत्त नगरपालिका १८ बस्ने उनीसँग स्वयम प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राति २ बजेसम्म बयान लिएको र उनले अपराध स्वीकार गरेको बताइएको थियो ।

प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा रावललाई पटक पटक म्याद थप गर्दै हिरासतमा राखिएको थियो । निर्मला हत्या प्रकरणको छानविन गर्न प्रहरीका विभिन्न टोलीहरु खटिए पनि उनीहरु अपराधि पत्ता लगाउन असफल भएपछि अहिले खनाल आफै अनुसन्धानका लागि प्रहरी टोली बोकेर कञ्चनपुर पुगेका छन् ।

Advertisement

Advertisement

Advertisement