प्रदीप भन्छन्- पैतलामा लाठीले हाने, तिघ्रामा लाठी राखेर माथिबाट टेके

Advertisement

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो ।

भीमदत्त नगरपालिका–१८ भगतपुरका १९ वर्षीय प्रदीपलाई १७ मंसिरमा पक्राउ गरी प्रहरीले सार्वजनिक हितविरुद्धको अपराध मुद्दा लगाएर थुनेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएपछि उनी छुटेका छन् ।

छुटेपछि रावलले आफूलाई प्रहरीले यातना दिएको बताएका छन् । सिआइबीको कार्यालयमा यातना दिएपछि आफू र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरेको भनेर बयान दिएको उनले सुनाए ।

‘पैतलामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने,’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे ।’ आफूले निर्मलालाई चिन्दै नचिनेको र घटनाबारे केही थाहा नभएको पनि उनको भनाइ छ ।

प्रदीपलाई कानुनी सहायता दिएका अधिवक्ता बद्री भुसालका अनुसार अपराध स्वीकार नगरेसम्म आफूमाथि कुटपिट भएको उनले बताएका छन् । ‘शरीरमा चोट त देखिएको छैन, एकदमै दुखेको छ भनेको छ, भोलि हामी उनलाई अस्पताल लैजान्छौँ,’ भुसालले भने ।

प्रदीप र विशालले अपराध स्वीकार गरेपछि प्रहरी निकै उत्साहित भएको थियो । तर, पछिल्लो समय प्रहरी निराश बनेको छ । प्रदीप प्रक्राउ परेको थाहा पाएपछि उनका बुबा टेकबहादुर भारतबाट नेपाल आएका थिए । सोमबार छोरालाई भेटेर उनी कञ्चनपुर गएका छन् । बुबासँग पनि उनले दबाब दिएपछि आफूले अपराध स्विकारेको, तर त्यसमा संलग्न नभएको बताएका छन् । न्युरोडको एक मःम पसलमा काम गर्ने प्रदीपलाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको थियो ।

‘पैतलामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने,’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे ।’ आफूले निर्मलालाई चिन्दै नचिनेको र घटनाबारे केही थाहा नभएको पनि उनको भनाइ छ ।

प्रहरीले उनको डिएनए र पोलिग्राफ टेस्टसमेत गरेको छ । तर, प्रदीप र विशाल दुवैको डिएनए रिपोर्ट सार्वजनिक गरेको छैन । डिएनए नमिलेकाले नै ‘होल्ड’मा राखिएको प्रहरी स्रोत बताउँछ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भने सिआइबीका निर्देशक नीरज शाही तथा केही अनुसन्धान अधिकृतसमेत लिएर बुधबार नै कञ्चनपुर गएका छन् । नयाँ कोणबाट अनुसन्धान गर्ने भन्दै आफैँ कञ्चनपुर गएका हुन् । कञ्चनपुरमा सिआइबीबाट एसपी सुदीप गिरीको नेतृत्वमा पछिल्लो चरणको अनुसन्धान भइरहेको छ ।

न्यायको आन्दोलनमा क्षति
निर्मलाको न्यायका लागि कञ्चनपुर अहिले पनि आन्दोलनमै छ । निर्मलाको न्यायका लागि भएको आन्दोलनमा ठूलो क्षति भएको छ । १४ वर्षीय बालक सन्नी खुनाको प्रहरीको गोली लागेर ज्यानै गयो । १९ वर्षीय अर्जुन भण्डारीले खुट्टा गुमाएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत उनको स्वास्थ्यमा अझै सुधार आएको छैन । १७ वर्षीय उमेश देउवाको स्वास्थ्य पनि अझै खराब छ । आन्दोलनमा हातमा गोलीको छर्रा लागेको १३ वर्षीय चेतन भट्ट दुखाइका कारण नियमित विद्यालय जान सकेका छैनन् । भगतपुरका ४७ वर्षीय सुरेश चटौत, भाँसीका ४१ वर्षीय चेतराज भट्ट र निम्बुखेडाकी ३२ वर्षीय मञ्जु गिरी पनि घाइते भएर उपचारमै छन् ।

छानबिन समिति बने, परिणाम आएन
निर्मला हत्याकाण्ड छानबिनका लागि सरकारले सहसचिव हरि मैनाली नेतृत्वमा एक उच्चस्तरीय छानबिन समिति गठन ग¥यो । केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसीको नेतृत्वमा पनि अनुसन्धान टोली गठन भयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ९हाल निलम्बित० एकेन्द्र खड्का नेतृत्वमा पनि अनुसन्धान टोली बन्यो । तर, कुनै समितिले पनि अनुसन्धान निष्कर्षमा पु¥याउन सकेनन् । कञ्चनपुर प्रहरीसहित अहिले सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद शर्मा र प्रहरी उपरीक्षक दुर्गासिंह चन्द नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

निर्मला हत्याकाण्ड अनुसन्धानमा लापरबाही गरेको भन्दै सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिलीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज जगदीशप्रसाद भट्टलाई बर्खास्त गरिसकेको छ । छानबिनमा लापरबाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी, इन्स्पेक्टर एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षकद्वय रामसिंह धामी, हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरेको छ ।

आमाबाबुको धर्ना जारी
छोरीको न्यायका लागि निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी २५ कात्तिकदेखि प्रशासनको मूलगेटमा धर्नामा बसे । उनीहरूलाई अधिकारकर्मीले साथ दिए । धर्नाकै क्रममा स्वास्थ्यमा समस्या आएपछि यज्ञराजलाई उपचारका लागि काठमाडौं लगियो । उपचार गरेर फर्केपछि उनले धर्ना जारी राखका छन् ।

‘हामीलाई छोरीको हत्यारा चाहिएको छ,’ आमा दुर्गाले भनिन्, ‘नक्कली होइन, सक्कली चाहिन्छ ।’ स्थानीय, प्रदेश र संघीय सरकारले दिएको १८ लाख राहत पनि निर्मलाको परिवारले बुझेको छैन ।

५ महिनासम्म पत्ता लागेन अपराधी
निर्मलाको बलात्कारपछि हत्या भएको एक सय ५५ दिन बितिसकेको छ । तर, अहिलेसम्म प्रहरी वास्तविक अभियुक्त पक्रन असफल भएको छ ।

सुरुमा प्रहरीले ४ भदौमा भीमदत्त नगरपालिका– १९ बागफाँटाका मानसिक सन्तुलन गुमाएका ४१ वर्षीय दिलीपसिंह विष्टलाई दोषी करार गर्दै सार्वजनिक गरेको थियो । तर, दिलीपलाई नक्कली अपराधीका रूपमा खडा गरेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्कियो । डिएनए परीक्षण पनि मेल नखाएपछि उनी छुटे । प्रहरीको यातना पाएका दिलीपको काठमाडौंमा उपचार भइरहेको छ ।

त्यसपछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण र स्थानीय युवा सुरेन्द्र विष्टको डिएनए परीक्षण भयो । तर, उनीहरूको डिएनए पनि मेल खाएन । त्यसलगत्तै परीक्षण गरिएको अन्य चारजनाको डिएनए पनि नमिलेपछि मंसिरमा प्रदीप रावल, विशाल चौधरी पक्राउ परे । प्रहरी उच्च स्रोतका अनुसार प्रदीप र विशाल पनि डिएनए नमिलेपछि छुटेका हुन् । कञ्चनपुर प्रहरीले गाउँभरका शंकास्पद व्यक्तिको डिएनए परीक्षण गर्ने जनाउँदै आएको छ ।

निर्मलाकी साथी रोशनी बम र उनकी दिदी ववितालाई पनि प्रहरीले दुईपटक अनुसन्धान ग(यो । पछिल्लोपटक हिरासतमै राखेर केरकार ग(यो । तर, घटनामा दुवैजना संलग्न नभएको देखिएपछि छाड्यो । १० साउनमा घरबाट होमवर्क गर्न भन्दै निर्मला रोशनीको घर गएकी थिइन् । ११ साउनमा उखुबारीमा उनको शव भेटिएको थियो ।

कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले निर्मला हत्याकाण्ड छानबिनका लागि विभिन्न टोली परिचालन गरिएको बताए । उनका अनुसार शंस्कापद व्यक्ति प्रहरीले उच्च निगरानीमा छन् । अहिलेसम्म ३५० लाई नियन्त्रणमा लिएर उनीहरूमाथि अनुसन्धान थालिएको बताए ।

आजको नयाँपत्रिका दैनिकबाट

Advertisement

Advertisement

Advertisement