मेलम्चीका प्राविधिकहरु हिंडेपछि आयोजनास्थल सुनसान, काम थाल्न थप ६० करोड चाहिने शर्त

Advertisement

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी ई–सेमेन्टेस्टी (सिएमसी दी रेभेन्ना)मा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका छन् ।

अध्यागमन विभागका अनुसार ६ जना सोमबार र २१ जना त्यसअघि नै फर्किएका हुन् । खानेपानी तथा सरसफाइ मन्त्रालयले ६ पुसमा अध्यागमनलाई पत्राचार गर्दै कम्पनीका कर्मचारीलाई स्वदेश फिर्तामा रोक नलगाउन निर्देशन दिएको थियो । त्यसअघि १ पुसमा भने स्वदेश फिर्तीमा रोक लगाउन पत्राचार गरिएको थियो ।

मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ठेकेदार कम्पनीका सबैले नेपाल छाडेको बताए । उनले भने, ‘सुरुङ निर्माणमा आबद्ध ठेकेदार कम्पनीका सबैले नेपाल छाडेका छन् । क्रिसमस मनाउन भन्दै उनीहरू जान खोजे । छाडेको काममा पछि फर्किन्छौँ भने । त्यसपछि कसैलाई रोक नलगाउन आदेश दिइएको हो ।’ मन्त्रालयको आदेशपछि प्रहरीले १ पुसको मध्यरातमा ठेकेदार कम्पनीका म्यानेजर इटालियन नागरिक ग्रेसो क्रिस्टियनसहित आठजनालाई पक्राउ गरेको थियो । त्यसमध्ये ६ जनाको पासपोर्ट जफत गरिएको थियो । अन्यलाई भने उच्च निगरानीमा राखिएको थियो । तर, मन्त्रालयले स्वदेश फिर्तीमा रोक नलगाउन विभागलाई पत्राचार गरेपछि उनीहरूले नेपाल छाड्न थालेका थिए ।

ठेकेदार कम्पनीका कुनै पनि प्राविधिक निर्माणस्थलमा नभएपछि सुुरुङ निर्माणको काम अहिले ठप्प छ । जुन सम्झौताविपरीत हो । ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता अनुसार कम्पनीले निर्माणस्थल पूर्णरूपमा छाड्न मिल्दैन । न काम रोक्न नै मिल्छ । सुरुङ निर्माणमा इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी ई–सेमेन्टेस्टी (सिएमसी दी रेभेन्ना) कार्यरत छ । कम्पनीसँग नेपाल सरकारको तर्फबाट मेलम्ची खानेपानी आयोजनाले ३१ असार ०७० मा ठेक्का सम्झौता गरेको थियो ।

मन्त्रालय स्रोतका अनुसार कम्पनीमा आबद्ध प्राविधिक काममा फर्कने।नफर्कने कुनै टुंगो छैन । मन्त्रालयका सचिव ठाकुरले क्रिसमस सकिएको सात दिनपछि उनीहरू काममा फर्कने दाबी गरे पनि ढुक्क हुने स्थिति नभएको बताए । कम्पनीमा १४ इटालियन, ३ फिलिपिनो, ७ कोलम्बियन, २ चाइनिज र १ दक्षिण अफ्रिकन कार्यरत थिए ।

सुरुङ निर्माण झनै अनिश्चित
सुरुङ निर्माणमा संलग्न ठेकेदार कम्पनीले काममा फर्कने प्रतिबद्धता जनाए पनि फर्कने÷नफर्कने टुंगो नभएपछि सुरुङ निर्माण कार्य अनिश्चित बनेको छ । पानी ल्याउन आवश्यक सुरुङ निर्माण गरिए पनि ७ सय मिटर प्लास्टर गर्न अझै बाँकी छ । सुरुङभित्र क्यामरा, सेन्सर, एयरब्यालेन्स मिलाउने मेसिनलगायतका काम गर्न बाँकी नै छ । पानीलाई सुरुङमार्गसम्म ल्याउन मुहानको निर्माण कार्य सुरु नै भएको छैन ।

६० करोड थप्न कम्पनीको नयाँ माग
भूकम्प र लगत्तैको नाकाबन्दीले निर्माण कार्य प्रभावित भएको भन्दै ठेकेदार कम्पनीले मेलम्ची खानेपानी आयोजनासँग एक अर्ब ६५ करोड रुपियाँ क्षतिपूर्तिको माग गरेको थियो । तर, आयोजनाले मागेजति रकम दिन नसक्ने भनेपछि विवाद डिस्प्युट रिफेक्सन बोर्ड (डिआरबी)मा पुग्यो । दुवै पक्षको विवादपछि बोर्डले ३५ करोड रुपियाँ क्षतिपूर्ति ठेकेदार कम्पनीले पाउनुपर्ने निष्कर्ष निकाल्यो । यसमा दुवै पक्ष सहमत भए । लगत्तै कम्पनीले आयोजनासँग क्षतिपूर्तिबापतको रकम माग ग¥यो । तर, आयोजनाले दिन मानेन । सोही निहुमा ठेकेदार कम्पनीले काम छाडेर हिँडेपछि आयोजना ३५ करोड रुपियाँ तत्काल दिन राजी भयो । तर, ठेकेदार कम्पनीले सो रकम लिन मानेको छैन । खानेपानी मन्त्रालयका अनुसार ठेकेदार कम्पनीले अहिले ६० करोड रुपैयाँ थप रकम माग गरिरहेको छ ।
आजको नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement