मेलम्ची ठेकेदारको धरौटी जफत गर्न अदालतले बाटो खोलिदियो

Advertisement

काठमाडौं, पुस १३ । मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सिएमसी काममा नर्फकिए २ अर्ब ५६ करोड रुपियाँको बैंक धरौटी जफत हुने भएको छ । सिएमसीले धरौटी लैजान पाउनुपर्ने माग गर्दै पेश गरेको रिटलाई अदालतले खारेज गरिदिएपछि धरौटी जफतको बाटो खुलेको हो ।

गत पुुस २ गते सिएमसीले मेलम्चीको ठेक्का एकतर्फी रूपमा तोडेपछि सरकारले यसको सबै प्रकारको बैंक धरौटीवापतको रकम रोक्ने निर्णय गरेको थियो । उक्त रकम खुला गर्नुपर्ने र आफूले लैजान पाउनपर्ने माग गर्दै ठेकेदार कम्पनीले पाटन उच्च अदालतमा सरकार विरुद्ध मुद्दा हालेको थियो ।

उक्त मुद्दामा पाटन अदालतले अन्तरिम आदेश नदिएको र सिएमसीको विपक्षमा अन्तरिम आदेश दिएको छ । अदालतले बैंक धरौटी रोक्ने सरकारी निर्णयलाई नै बैधता दिएको छ ।

अब यो आदेशपछि ३ दिन (डिसेम्बर ३१) भित्र ठेकेदार कम्पनीेले आफ्नो धरौटी नवीकरण गर्नुपर्ने छ । ठेकेदार कम्पनीले धरौटी रकम नवीकरण नगरे यो रकम सबै नेपाल सरकारको हुने छ । यसको धरौटी नवीकरण गर्नुपर्ने मिति ३ दिनलाई मात्रै रहेको छ । यदि यो कम्पनीले साढे दुई अर्बको धरौटी जोगाउन खोज्यो भने यसैबाट काम अगाडि बढ्न सक्छ ।

होइन भने यसको रकम सरकारले पाउने र नयाँ ठेकेदार छनोट गरेर मेलम्ची खानेपानीको काम अगाडि बढाइने खानेपानी मन्त्रालयका सहसचिव सूर्यराज कँडेलले बताए । उनका अनुसार अदालतको आदेशबाट अब मेलम्चीको काम अगाडि बढाउन सहज भएको छ । ठेकेदार कम्पनीले परफरमेन्स, बिड, मोविलाइजेशनसहितका नौ प्रकारको शीर्षकमा यस्तो रकम जम्मा गरेको छ ।

Advertisement

Advertisement

Advertisement