राजधानीमा फिल्मको पोस्टर टाँस्न बन्देज

Advertisement

काठमाडौँ । काठमाडौंका हरेक गल्ली–गल्लीका भित्ताहरुमा वर्षौदेखि नेपाली फिल्मको कब्जा छ । सायद नेपाली फिल्मको पोस्टर नटांगिएको राजधानीमा कुनै भित्ता छैन । यसले काठमाडौंको सुन्दरता नै कुरुप बनाएको छ । तर, अब काठमाडौंमा फिल्मको पोस्टर टाँस्न नपाइने भएको छ ।

काठमाडौं महानगरपालिकाले नेपाली फिल्मको पोस्टर राजधानीभित्र टाँस्न बन्देज लगाएको छ । चलचित्र निर्माता संघले बिहीवार आयोजना गरेको पत्रकार भेटघाटमा बरिष्ठ उपाध्यक्ष केशव भट्टराईले निर्माताको सहजताका लागि हाल नयाँ विकल्पको विषयमा छलफल भइरहेको बताए ।

उनले भने, 'महानगरपालिकाले हामीलाई बोलाएर काठमाडौंमा फिल्मको पोस्टर टाँस्न नपाइने जानकारी गराएको छ । अब फिल्मको पोस्टर टाँस्न पाइने छैन ।'कार्यक्रममा वर्षमा दुई नेपाली फिल्म चीनमा प्रदर्शन गर्ने तयारी भइरहेको पनि जानकारी गराइएको थियो ।

हालै चीन भ्रमणबाट फर्किएका निर्माता संघका अध्यक्ष आकाश अधिकारीले २५ देशका निर्माताहरुको छाता संगठन आवद्ध भएको ‘द फेडेरेशन अफ मोसन पिक्चर्स, एसिया प्यासिफिक’ मा चलचित्र निर्माता संघ पनि प्रवेश गरेको बताउँदै नेपाली फिल्म चीनमा प्रदर्शन गर्ने विषयमा कुराकानी भएको बताए ।

चीनमा आयोजना भएको सम्मेलनमा नयाँ कार्यसमिती गठन भएको र आफू पनि सदस्य रहेको बताउँदै उनले भने, 'मैले वर्षमा २ वटा नेपाली फिल्म चीनमा प्रदर्शन गर्नका लागि प्रस्ताव राखेको छु । यदी नेपाली फिल्म चीनमा प्रवेश गरेको खण्डमा यसले निर्माताहरुलाई ठूलो फाइदा हुनेछ ।'

Advertisement

Advertisement

Advertisement