काठमाडौंमा अचानक मौसम बदली

Advertisement

काठमाडौँ ।  पुस सुरु भएसँगै देशभरका विभिन्न क्षेत्रको मौसममा निकै फेरबदल आएको छ । राजधानीमा पनि अचानक मौसममा बदलि आई चिसो हावाको बहावले हिजोदेखि राजधानिबासिहरुलाई समेत निकै प्रभावित तुल्याएको छ । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्री मापन गरिएको छ । मौसमविदका अनुसार यो वर्षकै न्यूनतम तापक्रम हो ।

उच्च पहाडी र हिमाली भेगमा हिमपातले जनजीवन प्रभावित बनाएको छ भने तराई मधेस क्षेत्रमा शितलहर र चिसोले जनजीवन प्रभावित पारेको छ । बारा, पर्सा, रौतहट, सिरहा, नवलपरासी (पूर्व र पश्चिम), रूपन्देही, कैलालीलगायत तराईका अधिकांश क्षेत्रमा शीतलहरको प्रभाव देखिएको छ । जुम्लाको बिहीबारको न्यूनतम तापक्रम भने माइनस ८ डिग्री मापन गरिएको छ । हिमाली भेगमा तापक्रम माइनसमा झरेसँगै खोलाहरु जम्न थालेका छन् । दिपायलको न्यूनतम तापक्रम १ दशमवल ८ डिग्री मापन गरिएको छ । त्यस्तै डडेल्धुराको न्यूनतम तापक्रम शून्य दशमलव ७ डिग्री पुगेको छ । धनगढीको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार चिसो अझै बढ्‍ने बताएको छ । आज देशका पहाडी भुभागहरुमा आंशिकदेखि सामान्य बदली रहने तथा अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Advertisement

Advertisement

Advertisement