बमजन आश्रमबाट बेपत्ता पारिएकाहरुका परिवारले पत्रकार सम्मेलन गरेर भने– कि लास चाहियो कि सास

Advertisement

काठमाडौं । आफूलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्मगुरु रामबहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि छानविन गर्न सरकारसमक्ष माग गरेका छन् ।

बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी गरिदिन ३ परिवारले शुक्रबार पत्रकार सम्मेल गरेर सरकारलाई आग्रह गरेका हुन । मकवानपुर र नुवाकोटबाट आएका तीन परिवारले बमजनको आश्रममा अनुसन्धान गर्न र वर्षौंदेखि बेपत्ता पारिएका आफन्त खोजी दिन सरकारलाई आग्रह गरे ।

बौद्ध धर्मको एक संगठन अहिंसावादी धर्म चक्र संघका महासचिव प्रेम दोर्जे लामाले बमजनको आश्रमबाट हराएका डोल्मो र चुन्मोलगायत अन्य आनी र चेलाको खोजी गर्न माग गरे । यो संगठनमा मकवानपुरकी डोल्मो र नुवाकोटकी चुन्मोका परिवार पनि आवद्ध छन् ।

लामाले भने, ‘सुरूमा दुबै हाम्रो गुम्बाका आनी थिए । पछि बमजनतिर लागेर उतै आश्रममा बस्न थाले । अहिले उनीहरू बेपत्ता भएको भन्दै परिवारका सदस्य हामीलाई सोध्न आइरहनुभएको छ । हामीले पनि खोज्यौं । भेटेनौँ । अब राज्यले खोजिदिनुपर्यो ।’

सुरूमा आफ्नो संगठनले बमजनलाई तपस्वी नै मानेर सहयोग गरेको उल्लेख गर्दै लामाले भने, ‘उहाँ तपस्या बसेको बेला सहयोगको अपेक्षा गरेपछि संघको तर्फबाट सहयोग गर्यौं । जब गढीमाई रोक्छु भनेर उनले हामीलाई विभिन्न कार्यक्रम गर्न लगाउनुभो । जसो जसो भन्नुभो, त्यसै गरेका थियौं । अनि आफैं भाग्नुभयो त्यसपछि भने हामी अलग्गियौं ।’

गढीमाई रोक्छु भनेका बमजन आफैं २ महिना बेपत्ता भएको उनले बताए । दुई महिनापछि उनी फर्केर बाराको हलखोरिया आएपछि फेरि आफूहरू उनको दर्शन गर्न गएको लामाले बताए ।

‘हराएर फर्किँदा बमजनका साथमा एकजना महिला पनि आएकी थिइन् । त्यो बेला पनि तीन चोटी ढोगेर दर्शन गरेका थियौं । यत्रो दिन तपाईं कहाँ जानु भयो भनेर सोध्यौं । सँगै बसेको महिलाका बारेमा पनि सोध्यौं’–उनले सुनाए ।

बमजनले भने आफू कहाँ हराएको भन्नेबारे फरक–फरक कुरा गरेको दोर्जेले बताए । उनले भने, ‘त्यसपछि भने हामीहरू पूर्ण रूपमै बमजनसँग अलग्गिएका हौं । हाम्रा आनी पनि त्यो समूहमा गएका थिए । बेपत्ता छन् । कि मरेको छ भन्नुपर्यो कि त कहाँ छन् पत्तो लाग्नुपर्यो ।’

दोर्जेले बमजनका आश्रमहरूमा राज्यले अनुसन्धान गर्नुपर्ने माग गरे । उनले थपे, ‘सत्यतथ्य के हो पत्ता लगाउनुपर्यो ।’ बमजनको आश्रमबाट २०७१ माघदेखि बेपत्ता भएकी डोल्मोका दाजु र बुवाले पनि पत्रकार सम्मेलनमा राज्यलाई यस्तै आग्रह गरे ।

‘मेरी छोरीले बमजनको आश्रमबाट फोन गरेकी थिई । पछि हामी भेट्न जाँदा छैन भन्छन्,’ उनले भने, ‘हामीले धेरै ठाउँ खोज्यौं, भेटेनौं । अब राज्यले खोजी दिनुपर्यो र खबर गर्नुपर्यो ।’ डोल्मोसँगै बेपत्ता भएकी उनकी साथी नुवाकोटकी चुन्मोकी दिदी गंगामाया पनि पत्रकार सम्मेलन गर्न काठमाडौं आएकी थिइन् ।

उनले आफ्नी बहिनी बमजनको आश्रममा गएपछि नफर्किएको बताइन् । २०६८ सालमा बमजनको आश्रममा गएपछि उनी घरमा एकपटक आएकी थिइन् । त्यो बेला एकरात बसेर बमजनकै आश्रममा फर्केकी उनी अहिलेसम्म सम्पर्कमा नआएको गंगामायाले बताइन् ।

गंगामायाले भनिन्, ‘मेरो बहिनी आएको बेला मैले भेट्न पाइनँ । त्यसपछि टाढा–टाढा भयो । घर आउन पनि छोड्यो । गुरूलाई धेरै मान्थ्यो । तर आश्रममा छैन भन्छन् ।’

बमजनले बुङमती लगाएको पूजामा भेटिन्छ कि भनेर खोज्न गएको पनि उनले बताइन् । गंगामायाले भनिन्, ‘आफैं आएन । हामी खोज्न कहाँ जाने ? त्यही पनि बुङमतीको पूजामा खोज्न आएको बमजनका मान्छेले बहिनीको फोटो देखाउँदा यो त अहिंशावादीको सिआइडी हो । निस्केर गयो भन्छ अरू कुरा भन्दैन, गुरू (बमजन)ले टेकेको माटो पनि शक्ति हुन्छ भन्थ्यो । मरेको भए लास पाउँ जिउँदो भए भेट्न पाउँ ।’

त्यस्तै, पत्रकार सम्मेलनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वनस्पति चोकका महिन्द्र वाइवाले पनि आफ्ना बुवा खोजी दिन आग्रह गरे । उनले आफ्नो बुवा २०७१ चैतदेखि बमजनको आश्रमबाटै बेपत्ता भएको बताए ।

वाइबाले भने, ‘चैतको १४ गते बमजनको आश्रमबाट १७ गते आउँछु भनेर फोन गर्नुभएको थियो १० दिन पुग्दा पनि आउनुभएन । म सिन्धुपाल्चोक गएँ । त्यहाँ एउटा बाजेले निस्केर गइसक्यो भन्नुभयो । तर बुवा घरमा आउनुभएको छैन ।’

बेपत्ता भएकाहरुका परिवारले आफ्ना बुवा, बहिनी र छोरी खोजी दिन भन्दै प्रहरीमा जाहेरी दिएको पनि जानकारी थिए ।

Advertisement

Advertisement

Advertisement