डा. पौडेल भन्छन्– गत बर्ष फ्रान्समा १० लाखले सुर्ती चुरोट त्यागे, हामीले किन त्याग्न सक्दैनौं ?

Advertisement

काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थको कारण नसर्ने रोगहरु रोकथाम एउटा गम्भीर समस्या रहेको क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुदत्त पौडेलले बताएका छन् ।

नेपाल टेलिकम र क्यान्सर काउन्सिलले आयोजना गरेको सुर्तीजन्य पदार्थको असर र क्यान्सर तथा मुटु रोगसम्बन्धि अन्तरक्रियात्मक जनचेतना कार्यक्रममा पौडेलले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिकस्तरबाटै जागरुकता आउनुपर्ने बताए ।

सन् २०१७ मा फ्रान्समा दृढ इच्छा शक्तिका कारण १० लाख मानिसहरुले सुर्तीजन्य पदार्थ त्यागेको उदाहरण दिँदै उनले जनचेतनामूलक कार्यक्रममार्फत सुर्तीजन्य पदार्थ रोगथाम गर्न सकेमा नसर्ने रोगहरु रोगथाम गर्न सकिने बताए ।

नेपालमा सुर्तीजन्य पदार्थ कै कारण मुटुसम्वन्धी समस्या, क्यान्सर, दमलगायत रोगले मानिसहरुको अकालमा ज्यान जाने र उपचारको लागि लाखौं रुपियाँ खर्च हुने पौडेलको भनाई छ । उनका अनुसार सुर्तिजन्य पदार्थ बिरुद्धको ऐन प्रभावकारी कार्यान्वयनको लागि सरोकारवालाहरुसँगै नागरिक समाजले पनि जागरुकता देखाउनुपर्ने बताए ।

पौडेलले विकसित देशमा जनचेतनाका कारण सुर्तिजन्य पदार्थको प्रयोगमा कमि र क्यान्सर तथा नसर्ने रोगहरुबाट मर्नेको संख्यामा पनि कमि आएको सुनाए ।

क्यान्सर काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले जानकारी नहुनु र स्वास्थ्य सेवाको अभावले गर्दा क्यान्सर रोगले मानिसहरु ग्रसित भएपछि मात्र अस्पताल आइपुग्ने गरेको बताए । जसले गर्दा उपचार खर्च पनि बढि र उपचारको प्रभावकारीता पनि कम हुने कडरियाको भनाई छ ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिमा वैधले नेपालमा क्यान्सर रोग रोगथामको लागि नागरिक पनि सचेत हुनुपर्ने बताइन् । टेलिकमकी संचार प्रबन्धक रिना डंगोलले कम्पनीमा पनि क्यान्सर काउन्सिलसँग सहकार्य गरि सुर्तिजन्य पदार्थ रोगथामको लागि देशव्यापी रुपमा अभियान संचालन गर्ने बताइन् ।

Advertisement

Advertisement

Advertisement