ठेकेदारले काम नगरेको भन्दै प्राधिकरणले तोड्यो न्यू खिम्ती–बाह्रबिसे खण्डको ठेक्का

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीले काम नगरेको भन्दै तामकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको पहिलो खण्डको ठेक्का तोडेको छ ।

प्राधिकरणले चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँगको तामाकोसी–काठमाडौं प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्डको ठेक्का तोडेको हो । प्राधिकरणले ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र छ करोड १६ लाख ७४ हजार रुपियाँ कार्यसम्पादन जमानत जफत गरेको छ ।

यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र छ करोड १६ लाख ७४ हजार रुपैयाँ बैक जमानत पनि जफत गरिएको आयोजना प्रमुख नवराज ओझाले जानकारी दिए । प्राधिकरणले कम्पनीसँग ११ असोज २०७३ मा १२ जेठ २०७६ मा निर्माण सम्पन्न गर्ने गरी एक करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र ६१ करोड ६७ लाख ३६ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

प्राधिकरणले रणनीतिक महत्वको प्रसारण लाइनको कामलाई तिब्रता दिन ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिए पनि कम्पनीले ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको जनाएको छ । ओझाले भने, ‘ठेक्का सम्झौता भएको ७४ प्रतिशत समय सकिंदा करिब ८ प्रतिशत मात्रै भौतिक प्रगति गरेको, काम गर्न पटक–पटक दिइएको निर्देशन अटेर गरेकाले रणनीतिक महत्वको प्रसारण लाइन निर्माण अलपत्र पर्न नदिन ठेक्का टोडिएको हो ।’

कम्पनीले सम्झौतामा समय तालिकासहित उल्लेख भएका टावरको डिजाइन, ड्रोइङ, जग हाल्ने तथा जडान गर्ने, कन्टक्टर, इन्सुलेटर जस्ता उपकरणको उत्पादन, आपूर्ति तथा जडान गर्ने लगायतका काम गरेको थिएन ।

ठेक्का तोडी नयाँ ठेकेदार छनोटका लागि ठेण्डर आव्हान भइसकेको आयोजना प्रमुख ओझाले जानकारी दिए । उनका अनुसार, आगामी मे महिनाभित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको ८ सय २० दिनभित्रमा निर्माण सक्ने लक्ष्यका साथ काम अगाडि बढाइएको बताए । आयोजना नेपाल सरकार र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो ।

कम्पनीले सिन्धुपाल्चोको बाह्रबिसेमा २२०/१३२ केभी सबस्टेसन बनाउने ठेक्का पाएको छ । सबस्टेसनको काम पनि सन्तोषजनक नभएको आयोजनाले जनाएको छ । ताकेता गर्दासमेत सम्झौताको तालिकाअनुसार अहिलेसम्म मुख्य काम नै नगरेको आयोजनाले जनाएको छ ।

प्राधिकरण र कम्पनीबीच सबस्टसन निर्माणका लागि २५ डिसेम्बर २०१७मा ८७ लाख ९३ हजार डलर र ३१ करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २४ फेब्रुअरी २०२०मा सक्ने गरी ठेक्का सम्झौता भएको हो । खिम्ती र तामाकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौ उच्च क्षमताको प्रसारण लाइन बनाउन गर्न लागिएको हो ।

रामेछापको खिम्तीमा बन्न लागेको सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाई ४४ किलोमिटर छ । बाह्रबिसे–काठमाडौं खण्डको ठेक्का भने लार्सन एण्ड टर्वो (एलएण्टी)ले पाएको छ ।

Advertisement

Advertisement

Advertisement