बम्जन पक्षीय समूह भन्छ- उहाँ निर्दोष र महान हुनुहुन्छ, देशी विदेशी मिलेर प्रहार गर्न खोज्दैछन्

Advertisement

काठमाडौं । बोधिश्रवण धर्म संघले आफ्ना गुरु रामबहादुर बम्जनमाथि लगाईएका आरोपहरु निराधार, भ्रामक र कपोकल्पित रहेको जिकिर गरेको छ । बम्जनसँग रहनेक्रममा बेपत्ता भएकाहरुका परिवारले उनीहरुको कि लाश कि सास चाहियो भन्दै उनीहरुको खोजी गरिदिन सरकारसँग माग गरेको पर्सीपल्ट आइतबार पत्रकार सम्मेलन गरेर अर्को समूहले बम्जन निर्दोष रहेको र उनीमाथि लगाइएका आरोपहरु गलत भएको जिकिर गरेको हो ।

हालै आनी बनेर आश्रममा बसेका केही मानिसहरु बेपत्ता पारिएको भन्दै आफ्नो गुरु बमजनमाथि कपोकल्पित आरोप लगाएको संघसम्वद्ध केही व्यक्तिहरुको जिकिर छ ।संस्थाका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री मणि लामाले रामबहादुर बम्जन महासम्बोधि धर्म संघ गुरु भएको दाबी गरे । उनले भने, ‘२०७१ सालसम्म कुनै पनि चेला र चेली राख्ने, आनी बनाउने प्रचलन थिएन । आनी बन्ने प्रक्रिया २०७१ सालपछि सूरु भएको हो । त्यसको सम्पूर्ण रेकर्ड हामीसँग छ । सम्बन्धित व्यक्तिको परिवार र अभिभावकको स्वीकृति बिना कोही पनि आनी राखेका छैनौं । राख्न पनि हाम्रो धर्मले मिल्दैन । जे जति छन् त्यसको बारेमा जिम्मेवारी र संस्थाले खेल्नुपर्ने भूमिका खेल्छ । गुरु कुनै एक स्थानबाट अर्को स्थानमा जानु अगाडि नेपाल सरकारको गृहमन्त्रालय र स्थानीय प्रशासनसँग पत्राचार गरेरमात्रै भ्रमणमा निस्किनुहुन्छ । गुरुको सम्पूर्ण जानकारी नेपाल सरकारसँग छ ।’
छ वर्ष लामो तपस्यापछि महासम्बोधि गुरुको रुपमा बम्जन प्रकट भएको उल्लेख गर्दै लामाले भने, ‘अहिले उहाँमाथि कपोकल्पित र झुट्ठा आरोप लगाएर बद्नाम गर्ने काम भएको छ । उहाँ आत्मा र परमात्माबीचको सेतुको रुपमा चोला फेर्नुभएको हो । धमिरा लागेको शरिरमा अग्नि बलेर सेता कपडामा परिणत हुनुभएको हो । हामीलाई विश्वास छ, उहाँमाथिको आरोप पूरा भ्रम हो, सुनियोजित रुपमा प्रहार गरिएको हो ।’

त्यस्तै बोधि श्रवण धर्म संघका केन्द्रीय सदस्य एवं पूर्व माओवादीका नेता भूमिनन्द देवकोटाले बम्जनका बिरुद्धमा षड्यन्त्रपूर्वक प्रहार गरिएको जिकिर गरे । उनले भने, ‘म उहाँको भक्त पनि होईन । न त म उहाँको चेला नै हो । तर, उहाँको बारेमा विधावारिधि गर्नको लागि म उहाँसँग नजिएको व्यक्ति हुँ । मैले जुन विश्वास गरेको छु, त्यसको आधारमा भन्नुपर्दा उहाँमाथि देशी विदेशीहरु लागेर मौलिक धर्ममाथि प्रहार हुँदैछ । उहाँ यस धर्तीमा महान मानिसको रुपमा जन्मिनुभएको छ । संसारका महान व्यक्तिहरुमाथि यस्ता आरोप लाग्ने गरेको इतिहास छ । जिससलाई किला गाढेर मारियो, महात्मा गान्धिलाई गोली हानेर हत्या गरियो, यस्ता धेरै दुष्टान्तहरु छन् । महान व्यक्तिहरुको जीवनमा यस्ता घट्नाले आक्रमण गर्ने काम हुन्छ । तर, आरोपहरु लागिसकेपछि सत्य कुरा बाहिर आउनुपर्छ ।’

उनले थपे, ‘आफूहरुलाई पीडित भन्नेहरुलाई आश्रममा प्रवेश निषेध छैन् । आनि बन्नेहरुको बारेमा सबै रेकर्ड हुन्छ । सबै जानकारी रहन्छ । यो धर्मले शुन्यतावादको मान्यता मान्दछ । मानिसहरुकोबीचमा रङ्ग विभेदको अन्त्य चाहन्छ । गुरु स्वयमले विवाह गर्नु भएको छ । अरुलाई पनि विवाह गर्नुहोस् भनेर भन्नुहुन्छ । उहाँ बुद्ध धर्म मान्ने मानिस पनि होईन, ३४ मिनेटसम्म शरिरमा आगो लाग्यो त्यसपछि महान ज्ञानको भण्डारको रुपमा देखा पर्नुभएको हो । यो छलेर वा ढाटेर हुने कुरा होइन, सरकारले सत्य तथ्य छानविन गरोस् हामी पनि यहि चाहन्छौं ।’

Advertisement

Advertisement

Advertisement