आलोचना बढेपछि सम्मेलन नसकिँदै फर्किए कम्बोडियाका प्रधानमन्त्री

Advertisement

काठमाडौं । इसाई धर्म प्रचार गर्ने विवादास्पद अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको सम्मेलनमा भाग लिन आएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन आफ्नो भ्रमण छोट्याएर शनिबार फर्किएका छन् ।

अन्य मुलुकमा आयोजना गर्न संभव नभएपछि नेपालमा आयोजना गरिएको एसिया प्यासिफिक सम्मेलनमा भाग लिन आएका उनी नेपालमा सम्मेलनको चर्को आलोचना भएपछि भ्रमण छोट्याएर फर्किएका हुन् ।

उनलाई आउँदा जस्तै जाँदा पनि उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाई गरेका थिए । बिदाईका क्रममा कानुन, न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री भानुभक्त ढकाल पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

सम्मेलनको अवधि दुई दिन बाँकी रहँदै प्रधानमन्त्री हुन सेन फर्किनुले आयोजकहरु नैतिक संकटमा परेका छन् । सम्मेलनमा युनिभर्सल पिस फेडरेशन नामक आइएनजीओले आयोजना गरेको हो, जसलाई नेपालमा पूर्वसाँसदसमेत रहेका एकनाथ ढकालले परिचालन गर्नेछन् भने यस संस्थाले गर्ने धर्मप्रचारलगायतका गतिविधि नेकपाका नेता सुवाश नेम्वाङ, अहिलेका सभामुख कृष्णबहादुर महराले संरक्षण गर्दै आएको बताइन्छ ।

अन्तरनिर्भरता, पारस्परिक समृद्धि ,जलवायू र विश्वव्यापी मान्यता जस्ता एजेण्डा अघि सार्दै होटल हायातमा जारी सम्मेलन म्यानमारकी विदेशमन्त्री आङ साङ सु की, विभिन्न देशका पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसभामुखलगायत सहभागी छन् ।

प्रमुख प्रतिपक्षी दल काँग्रेस र सामाजिक सञ्जालमा आम जनताबाट व्यापक आलोचना भएपछि सरकार सम्मेलनको सहआयोजकबाट पछि हट्नुका साथै सवारी साधनमा लगाइएको जोरविजोर प्रणालीसमेत घटाइएको थियो ।

आलोचनापछि पूर्वप्रधानमन्त्रीहरुदेखि काँग्रेसका कोही पनि नेताहरु सम्मेलनमा सहभागी भएनन् । साथै, आयोजकको आग्रहअनुसार म्यानमारकी नेतृ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई सरकारले अतिथि सत्कार नगर्ने भएपछि सम्मेलनको हर्ताकर्ता बनेका ढकाल समस्यामा परेका छन् ।

केही बर्षयता एनजीओ र आइएनजीओको नाममा नेपालमा ठूलो रकम भित्रिएको र त्यो पैसा ग्रामीण क्षेत्रका विपन्न समुदायलाई दिँदै इसाई धर्ममा लाग्न प्रेरित गर्ने काम भएको भन्दै यसलाई रोक्न माग हुँदै आएको छ । साथै, राजनीतिक दलको नेतृत्वलाई अबौं रुपियाँ दिएर संविधान निर्माणदेखि धर्मनिरपेक्षता घोषणा गराउने काम पनि यही अभियानअन्तर्गत भएको विज्ञहरु बताउँछन् ।

Advertisement

Advertisement

Advertisement