सेयर बजारलाई अनलाइन प्रणालीमा लाने १५ बर्षअघिको अवसरलाई खेर फाल्दा ठूलो क्षति

Advertisement

काठमाडौं । मण्डला सिस्टम प्रालिका प्रवन्ध निर्देशक विप्लवमान सिंहले सन् २००३–४ मै आफूहरुले सेयर कारोबारलाई अनलाइन प्रणालीमा लैजान्छौं भन्दा नदिएर नेपालको सेयर बजारको विकासलाई निकै पछाडि धकल्ने काम भएको बताएका छन् ।

मण्डलाले १२ बर्ष पछाडि नै सेयर कारोबारलाई अनलाइन प्रणालीमा लैजान देखाएको चासोलाई बेवास्ता गरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) नेप्से बल्ल सुरु गरे पनि सिस्टमले अझै काम नगरेपछि लगानीकर्तादेखि स्टक ब्रोकरहरु निराश भएका छन् ।

त्यतिबेलै सीडीएसको अंशसमेत राखेर ४० लाख रुपियाँमा सेयरको अनलाइन कारोबारका लागि सफ्टवयर (हार्डवयरसमेत गरेर) बनाई यसरी चलाउँछौं भनी मन्त्री (तत्कालिन अर्थमन्त्री मधुकरशम्शेर राणा), स्टक ब्रोकर, लगानीकर्तालाई समेत राखेर प्रस्तुती गरेको मण्डलाले १५ लाख रुपियाँ पर्ने स्कोर बोर्डसमेत सित्तैमा बनाइदिने प्रतिवद्धता जनाएको सिंहले स्मरण गराए ।

तर, त्यतिबेला नेप्सेले उसको प्रस्तावलाई स्वीकार्न सकेन् । ‘हामीले हाम्रो अनुभव र विज्ञताका आधार अन्तर्राष्ट्रियस्तरको सेवा दिने योजनासहित यो जोखिम उठाएका थियौं’, उनले भने, ‘तर यहाँ त कस्तो छ भने नेपाली कम्पनीले कहाँ ठूलो काम गर्न हुन्छ ? कहाँ धेरैलाई रोजगार दिन हुन्छ ? कहाँ धेरै कमाउन हुन्छ ? कहाँ ठूलो अन्तर्राष्ट्रियस्तरको कम्पनी बन्न हुन्छ भन्ने मानसिकता, हाम्रो प्रणाली, हाम्रो कानुनले हामीलाई काम गर्न दिएन् ।

अहिले योमरी नामक एक कम्पनीलाई १४ करोड रुपियाँमा दिइएको ठेक्का पटक पटक समय र लागत थप गर्दै यही कात्तिक पहिलो सातादेखि अनलाइन प्रणाली सञ्चालनमा ल्याइए पनि अझै सिस्टमेटिक हुन् सकेको छैन् । साथै, यसको लागत बढाएर १४ करोडबाट २९ करोड पुर्याइएबाट यसभित्र ठूलो आर्थिक चलखेलको गन्दसमेत आएको छ ।

अधिकांश मुलुकका स्टक एक्सचेन्जहरु अनलाइन प्रणालीमा गइसक्दा पनि नेपालमा यस प्रणालीको विकास गर्न आनाकानी गरिँदै आएको थियो । २००३–४ तिरै अनलाइन प्रणालीको सुरुवात गरिएको भए नेपालको सेयर बजार निकै व्यवस्थित र सिस्टमेटिक भइसकेको हुनेथियो । लगानीकर्ताहरुले सहजरुपमा आफ्नो कारोबार गरिरहेका हुनेथिए । सरकारलाई पारदर्शीरुपमा राजश्व संकलन भइरहेको हुनेथियो । बजारमा हुने चलखेलहरु नियन्त्रण भइसकेका हुनेथिए, प्रवन्ध निर्देशक सिंहले भने ।

हरेक कुरामा व्यक्तिगत स्वार्थ हेर्ने र अर्कालाई अधि बढ्न नदिने प्रवृत्ति नेपालको आर्थिक विकासको एउटा बाधक तत्व भएको उनले विश्लेषण छ । ‘२००३–४ मा लगानीकर्ताको संख्या पनि कम भएको र स्टक ब्रोकर कम्पनीहरु पनि जम्मा २५ वटा मात्रै थिए’, सिंहले भने, ‘स्टक ब्रोकरहरुको सफ्टवयर पनि मण्डलाले नै बनाएकाले सो अनुकुल हुनेगरी सीडीएसको अंशसमेत रहनेगरी अनलाइन कारोबारको सफ्टवयर बनाउन सहज पनि हुन्थ्यो । तर उहाँहरुको समस्या के भने टेण्डर गर्नुपर्ने, एसियाली विकास बैंक (एडीबी)को ग्राण्ड भएकाले संसारमा दुई ठाउँमा चलाएको सफ्टवयर हुनुपर्छ भनेपछि हामी नेपालीले बनाएको सफ्टवयर जतिसुकै राम्रो, सस्तो, आकर्षक भए पनि नपाउने भयो । पार नलाग्ने देखिएपछि हामीले छोडिदियौं ।’

उनी भन्छन्, ‘नेपालीले सफ्टवयर बनाउन सक्छ कि सक्दैन् भन्ने प्रश्नै भएन, हामीले बनाएर डेमो नै गरेका थियो ।’ सेयर बजारमा अनलाइन कारोबार ढिलो गरिँदा राज्य र आम लगानीकर्तालाई ठूलो नोक्सान भएको सिंहको निष्कर्ष छ । कानुनी अडचनले गर्दा आफूहरुले टेण्डर प्रक्रियामा भागसमेत लिन नपाएको उनले गुनासो पोखे । आम लगानीकर्ताको सुचनासमेत रहने यस्तो ट्रेडिङ सफ्टवयर बनाउने काम मण्डलालाई नदिएपछि नेप्सेले भारतीय कम्पनीलाई बनाउन जिम्मा दियो, त्यसले काम गर्न नसकेपछि तीन करोड रुपियाँ हालेर अर्को खरिद गर्यो, त्यो पनि सफल नभएपछि अहिले योमरी नामक कम्पनीलाई जिम्मा दिएको छ, त्यसमा पनि समस्या देखिएको छ ।

मण्डलाले डेमो गर्दा सामान्य सुधार गरी यही नेपाली सफ्टवयर नै चलाउन सकिन्छ भन्ने निष्कर्षमा पुगेका नेप्सेलगायतका सरोकारवाला निकायका अधिकारीहरुबाट नेपाली कम्पनीलाई प्रोत्साहन गर्ने कुरामा केही कानुनी जटिलता भए सुधार गरेर जाउँ भन्ने पहल हुन् सकेन् । नेपाली कम्पनीले गरेको काममा नियमन र सुधार गर्न नेप्सेलाई सजिलो पनि हुन्थ्यो । तर विदेशी कम्पनी नै चाहिने नाममा धेरै समय र लगानी नेप्सेले गुमायो भने लगानीकर्ता अझै पनि अनलाइन कारोबार गर्नबाट बन्चित रहनुपरेको छ ।

सिंहले अहिले करोडौं रुपियाँ लगानी गरेर विकास गरिएकै प्रणालीले सहजरुपमा काम गर्नुपर्ने, समस्या आउनुनपर्नेमा समस्या आउनु दुखद् भएको बताए । यसको एपीआई स्टक ब्रोडरहरुलाई दिनुपर्नेमा रिपोर्टमात्रै दिएकाले पनि समस्या भएको उनले बताए । एपीआई नदिँदा स्टक ब्रोकरहरुलाई सफ्टवयर उपलब्ध गराएका कम्पनीहरुलाई समेत समस्या भएको सिंहले बताए ।

Advertisement

Advertisement

Advertisement