नेपाल र बङगलादेशबीचको उर्जा संयन्त्रको बैठक भोलिदेखि बस्दै

Advertisement

काठमाडौं । नेपाल र बङगलादेशबीचको उर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्ने भएको छ । बङगलादेशसँग उर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो वैठक बस्न लागेको हो ।

बैठक सोमबार र मंगलवार दुई दिनसम्म चल्ने उर्जामन्त्रीका सहयोगीले जनाएका छन् । बैठकमा सहभागी हुनको लागि वङगलादेशको पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौं आइपुगेका छन् ।

नेपालको तर्फबाट भने उर्जा, जलस्रोत तथा सिंचाईमन्त्रालयका सचिव अनुप उपाध्यायले वैठकमा नेतृत्व गर्नेछन् । त्यसैगरी सोमबार सहसचिवस्तरीय संयुक्त कार्यसमूहको बैठक समेत तय भएको छ । उक्त बैठकमा नेपालको तर्फबाट सहसचिव दिनेश घिमिरेले नेतृत्व गर्नेछन् भने बङगलादेशको तर्फबाट भने पावर डिभिजन हेर्ने सहसचिव शेख फैजुल अमिनले गर्नेछन् ।

बैठकमा क्रस वोर्डर इन्टरकनेक्शनसम्बन्धी छलफल हुनुका साथै विद्युत व्यापारबारे समेत दुवैपक्षबीच वार्ता हुनेछ । त्यसैगरी नविकरणीय उर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युतमा बङगलादेशले लगानी गर्नेसम्बन्धी छलफल र जिएमआरबाट ५ सय मेगावाट विजुली बङगलादेशले खरिद गर्नेबारे समेत वैैठकमा छलफल हुने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement