‘ए’ डिभिजन लिगः आजदेखि छैटौं चरणका खेल सुरु

Advertisement

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारदेखि छैटौं चरणका खेल हुँदैछन् ।

लिगअन्तर्गत छैटौं चरणको पहिलो खेलमा मंगलबार एपिएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन् । मंगलबार नै हुने अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । लिगको पाँचौं चरणको खेल सकिंदासम्म एनआरटीले जित निकाल्न सकेको छैन । विभागीय टिम एपिएफले मात्र एक जित निकालेको छ ।

लिगको पहिलो खेलमा एनआरटीले विभागीय टिम आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुआत गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अङ्कका साथ लिगको पुछारमा छ । विभागीय टोली एपीएफले लिगमा एकमात्र जित दर्ता गर्न सकेको छ । एकमा बराबरी तीनवटा खेलमा पराजित हुँदै चार अङ्कका साथ तालीकाको ११औं स्थानमा छ ।

त्यस्तै मंगलबार नै हुने दोस्रो खेलमा पुलिस र सङ्कटा क्लब भिड्ने छन् । नेपाल पुलिस क्लब तीनमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित १० अङ्कका साथ पाँचौं स्थानमा रहँदा सङ्कटा चारमा जीत र एउटामा पराजित हुँदै १२ अङ्कका साथ अङ्क तालीकाको चौथो स्थानमा छ ।

छैटौं चरणका खेलअन्तर्गत बुधबार मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्रीस्टार र सरस्वती युथ क्लबबीच खेल हुनेछ । बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबसँग, ब्रिगेडब्वाइज क्लबले मच्छिन्द्र क्लबको सामना गर्नेछ ।

Advertisement

Advertisement

Advertisement