मन्त्री अनिर्णयको बन्दी हुँदा मलेसियाको रोजगारी अवसर अझै खुलेन

मलेसियाको रोजगारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले निर्णय गर्न नसक्दा नेपाल र मलेसियाबीच श्रम समझदारी भएको एक महिना बित्दा समेत कामदार पठाउने प्रक्रिया सुरु हुन नसकेको मन्त्रालयको स्रोतले जनाएको छ ।

मलेसिया जाने कामदारसँग बढी रकम लिएको भन्दै गत जेठ २ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीसम्बद्ध पाँच संस्था खारेज गरेपछि त्यसयता रोजगारीका लागि मलेसिया जानेक्रम ठप्प भएको छ । सरकारले दुई देशबीचको एमओयूपछि कामदार पठाउन थाल्ने बताएपनि एक महिना नाघिसक्दा पनि अझै कामदार पठाउने क्रम सुरु भएको छैन् ।

मन्त्री विष्टले पहिले वैदेशिक रोजगारमा जाने श्रमिकलाई ठगी गरेको आरोप लगाइएका कम्पनीलाई पुनः सोही काम दिन पनि नैतिक रुपमा नसक्ने र पहिलेकाबाट काम खोसेर सोही काम फेरी अर्कोलाई दिंदा नातावाद र आर्थिक चलखेलको आरोप लाग्ने भएकाले निर्णय गर्न नसकेको मन्त्रालय स्रोतले बताएको छ ।

उसो त विष्टले आर्थिक प्रलोभनमा परि भिएलएन÷ओएससीको, बायोमेडिकल र अध्यागमन सुरक्षाको जाँच लगायतका काममा पहिलेका कम्पनीलाई हटाएर नयाँलाई दिन लागेको भनि आरोप लागिसकेको छ ।

स्रोतका अनुसार मन्त्री गोकर्ण विष्टलाई प्रभावमा पारेर राहदानी संकलन गर्दै आइरहेको भिएलएन÷ओएससीको काम पूजा चन्द ठकुरीले, बायोमेडिकलले गर्दै आएको स्वास्थ्य परीक्षणको काम रघु पुरीले र अध्यागमन सुरक्षा जाँचको काम सन्तोष कार्कीले हत्याउन खोजिरहेका छन् ।

सस्तो लोकप्रियताका लागि व्यवसायीहरुलाई ठगीको आरोपमा थुनेर मुद्दा चलाएका मन्त्री विष्ट फेरी सोही जिम्मेवारी तीनै संस्थालाई दिन पनि तयार नहुनु र अन्य नयाँ संस्थालाई उक्त काम सुम्पिँदा त्यसको आवश्यकता पुष्टि गर्न पनि नसक्ने अवस्थामा भएकाले निर्णय गर्न नसकेको स्रोतको दाबी छ ।

उता काठमाडौं स्थिात मलेसियन दुतावासले भने पहिलेकै संस्थालाई कार्य अगाडी बढाउन पत्र पठाएको बुझिएको छ ।

मन्त्री विष्टले निर्णय गर्न नसक्दा मलेसिया रोजगारी खुल्नेबारे अझै अन्योल भइरहेको मन्त्रालय स्रोतले बताएको छ । फलस्वरुप मलेसिया जानका लागि श्रम विभागबाट अन्तिम श्रम स्वीकृति लिइसकेका करिव १० हजार कामदारको प्रक्रिया समेत अघि बढ्न सकेको छैन् ।

यसैबीच लामो समयसम्म मलेसिया रोजगारी सुरु नभएको भन्दै प्रतिपक्षी दतका नेताहरुले विरोध गर्न थालेका छन् । काँग्रेस नेता शेखर कोइरालाले मलेसिया रोजगारी रोकिएकोबारे सोमबार टिवट् गर्दै दुई देशको सहमति अनुसार मलेसिया रोजगारी सुरु गर्न माग गरे। ‘दुई देशबीचको एमओयूपछि पनि मलेसिया रोजगारी सुरु नहुनु दुर्भाग्य हो,’ उनले भने, ‘सार्वजनिक सञ्चार माध्यममा मलेसिया कामदार पठाउँदै आएका संस्था (भेन्डर) फेर्ने खबर सार्वजनिक भएका छन् । यसको तत्काल छानबिन होस्।’

यस्तै राप्रपा अध्यक्ष थापाले एमओयूपछि मलेसिया रोजगारी सुचारु नहुनुमा सरकारको कमजोरी देखिएको गुनासो गरेका छन् । भेन्डर परिवर्तन गरी आफन्तलाई मलेसियाको काम दिन खोजेको भन्ने खबरबारे प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने थापाको माग छ ।