सरकारलाई राजपाको चार दिने अल्टिमेटम, नभए समर्थन फिर्ता लिने

Advertisement

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लवमा मंगलबार उनले भने, ‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन । हाम्रो पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ ।’

नेता कर्णले आफूहरुले सरकारमा जानको लागि यो सरकारलाई समर्थन नगरेको भन्दै भने, ‘हामीले त संविधान संशोधन र आन्दोलनका बेला हाम्रा नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउनको लागि यो सरकारलाई समर्थन दिएको हो । तर, दुई वटै विषयमा अहिलेसम्म सरकारले हामीसँग कुनै छलफल नै गरेको छैन् । त्यसैले अब समर्थन कायम राख्नुपर्ने औचित्य छैन् ।’

उनले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको पनि आरोप लगाए । कर्णले भने, ‘सरकारले कुनैपनि गतिलो काम गर्न सकेको छैन् । स्थानीय सरकारमा अहिले विकास रकमको चरम दुरुपयोग भएको छ । बास्तवमा भन्ने हो भने यो सरकारले राम्रो काम केही पनि गर्न सकेको छैन् ।’ सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको उनको आरोप छ ।

उनले भने, ‘चार महिनाअघि भएको निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण आज पनि चर्चित नै छ । यो कसको कमजोरी हो ? एउटा बच्चा बलात्कृत हुन्छ, त्यसलाई मारिन्छ, र त्यसको दोषी को हो ? भन्ने पत्तै लाग्दैन् । अनि यो भन्दा निकम्मा सरकार अरु को होला ? यो देशमा यतिका प्रहरी छन् । सशस्त्र प्रहरी छन् । सेना छ । लाखौंको संख्यामा सुरक्षाकर्मीहरु छन् । अझ नपुगेर भर्ना गरिँदैछ । के को लागि ? केवल मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि ?’ साँढे ३३ केजी सुन तस्करी प्रकरण अहिले सेलाएको भन्दै सरकारकै कारण यो प्रकरण सेलाएको उनको आरोप छ । कर्णले थपे, ‘अहिले त जेलमा भएकाहरु पनि धमाधम छुट्दैछन् ।’

उनले वर्तमान प्रधानमन्त्री केपी ओलीले क्रिश्चियन धर्म प्रचार गर्नको लागि नै योगदान पुर्याएको आरोप लगाए । कर्णले भने, ‘यदि प्रधानमन्त्री वा अरुले बरु क्रिश्यिचन धर्म नै कबुल गरेको भए मलाई केही पनि भन्नु थिएन । तर, देशको सरकार प्रमुखले नै एउटा धर्मको निमित्त खर्च गर्ने र प्रचार गर्ने यो विल्कुल गलत काम भयो । व्यक्तिगत रुपमा केपी ओली क्रिश्चियन बन्न सक्नुहुन्छ । त्यो उहाँको व्यक्तिगत छुटको कुरा हो । तर, उहाँ अहिले मुलुकको प्रधानमन्त्री हो । उहाँ प्रधानमन्त्री भइकन जुन एउटा धर्मको प्रचारमा लाग्नुभयो, यो विल्कुल गलत हो । यो हाम्रो संविधानको बर्खिलाप हो । संविधानले पनि यसलाई सहँदैन् । उहाँले जुन काम गर्नुभएको छ, त्यो विल्कुलै गलत काम हो ।’

Advertisement

Advertisement

Advertisement