साढे तीन वर्ष अघि भूकम्पले क्षति पुर्याएको मितेरी पुलको निर्माणकार्य बल्ल शुरु

Advertisement

चौतारा । विसं २०७२ को भूकम्प र २०७३ असारको बाढी तथा सुख्खा पहिरोले क्षतिग्रस्त नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानीस्थित भोटेकोशी नदीको मितेरी पुलको निर्माणकार्य शुरु भएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा साविकै स्थानबाट पुल निर्माणको काम शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

चीनको सरकारी निर्माण कम्पनी टाइन सुन रोड एण्ड ब्रिज कम्पनीले निर्माणकार्य थालनी गरेको सो पुलको २०७६ जेठको दोस्रो सातामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । भूकम्पले क्षति पुर्याएको पुलमाथि राखिएको बेलिब्रिजको सामान हटाउने काम भइरहेको र कामदार सबै चिनियाँ रहेको भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

बाह्रविसे–तातोपानी २९ किमी सडकखण्ड र लार्चास्थित सुख्खा बन्दरगाहको काम चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी फोर्टिन ब्यूरोले गरिरहेको छ । उक्त दुवै काम पनि आगामी जेठको दोस्रो साता अर्थात् मे २०१९ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । साविक आठ मिटर चौडाइलाई बढाएर सडक तथा पुललाई अब १२ मिटर चौडाइमा विस्तार गरिने भएको छ । सडक र पुलको काम शुरु भएसँगै साढे तीन वर्षदेखि बन्द तातोपानी नाका चाँडै खुल्ने सङ्केत मिलेको छ ।

तातोपानी र रसुवागढीको सीमा पुल बनाइ दिने चीन सरकारको प्रस्तावलाई २०७५ जेठ २७ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । चीन सरकारले सन् १९६० मा कोदारी–काठमाडौं ११४ किमी सडक बनाइदिने सम्झौताअनुसार निर्मित मितेरी पुललाई २०३८ सालको बाढीले बगाएपछि चीनकै सहयोगमा सो पुलको साथै झिर्पू पुलसमेत पुनःनिर्माण भएको थियो ।

Advertisement

Advertisement

Advertisement