मनकामना दर्शन प्रालिले दक्षिणकाली मन्दिरमा केवलकार निर्माण अघि बढायो

Advertisement

काठमाडौं । राजधानीस्थित महत्वपूर्ण धार्मिक पर्यटकीय केन्द्र दक्षिणकालीमा मनकामना दर्शन प्रालिसमेतको लगानीमा केवलकार निर्माण प्रक्रिया अघि बढेको छ । यो केवलकार दक्षिणकाली मन्दिरदेखि डाँडाको चौकोटदेवी मन्दिरसम्मको हुनेछ ।

झण्डै तीन अर्ब रुपियाँ लगानीमा निर्माण हुने यस केवलकार संभाव्यता अध्ययन सकेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । तीन महिनाभित्र डीपीआर सकेपछि निर्माणकार्य सुरु गरिने सम्वद्ध एक पदाधिकारीले बताए ।

केवलकारको माथिल्लो भागमा आकर्षक र सुविधासम्पन्न पिकनिक स्पोटदेखि रिसोर्टहरु तयार गर्न निजी जग्गा किन्नेदेखि सरकारी जग्गा भाडामा लिन केही खर्च हुने भएकाले लागत तीन अर्ब अनुमान गरिएको छ । यद्यपि वास्तिक लागत डीपीआर तयार भएपछि मात्रै थाहा हुने स्रोतको भनाई छ ।

पहिलो चरणमा केवलकार निर्माण हुने र दोस्रो चरणमा रिसोर्ट, पिकनिक स्पोर्ट, धार्मिक महत्वका अरु संरचनाहरु निर्माण गर्ने काम अघि बढाइने छ । दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यस केवलकार निर्माण सम्पन्न भइसकेपछि राजधानीमै सञ्चालित अर्को (चन्द्रागिरि)भन्दा राम्रो सेवा सुविधासहित केवलकार सञ्चालन गरिने स्रोतले बतायो । आउँदो असारबाट काम सुरु गरेर डेढ बर्षभित्र निर्माको काम सक्ने र त्यसपछि अरु काम सुरु गरिनेछ ।

उनले भने, ‘दक्षिणकाली भनेको मनाकामना जस्तै महत्व र सबैको आस्थाको केन्द्र हो । मन्दिर दर्शनसँगै पिकनिक आयोजना गरेर रमाइलो गर्न चाहने, राजधानीको व्यवस्था ठाउँबाट अल्लि टाढा शान्त रिसोर्टमा आराम गर्न वा बैठक र सेमिनार गर्न चाहनेहरुका लागि यो ठाउँ निकै उपयुक्त हुनेछ ।’

आयोजनाका लागि लगानी व्यवस्थापनको जिम्मा नविल क्यापिटललाई दिइएको छ । उसले सेयर संकलनदेखि ऋण जुटाउने र पछि आइपीओ निष्काशनको काम गर्नेछ । निश्चित प्रतिशत नविल क्यापिटलको समेत लगानी रहने छ ।

Advertisement

Advertisement

Advertisement