ओली र प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । मोरङस्थित ग्रामनाथ गाउँपालिकाका ३८ वर्षीय पूर्व सेना तथा पूर्व माओवादी लडाकु झलकुमार भगतले प्रधानमन्त्री र प्रचण्डसहित अन्य २१ जना उच्च ओहोदाका व्यक्तिहरुविरुद्ध सर्वोच्चमा मुद्धा दायर गरेका हुन् ।

भगत २०६२ साल साउन ८ गते नेपाली सेनाबाट विद्रोह गरी भागेका थिए । सेनाबाट भागेपछि उनी माओवादी सेनामा गएका हुन् । माओवादी शान्ति प्रक्रीयामा आएपछि वाइसीएलको स्थानीय नेताका रुपमा पनि उनले काम गरेका थिए ।

२०७४ साल मंसिर ८ गते आफ्नै निवासमा सुतिरहेका बेला उनलाई मोरङ प्रहरीले पक्र गरी नेपाली सेनाको पूर्वी पृतना इटहरीको जिम्मा लगाएको थियो । प्रहरीले उनलाई निर्वाचनविरोधी गतितिधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरेपछि सेनाले भगौडा भन्दै भगतलाई आफ्नो कब्जामा लिएको परिवारहरु बताउँछन् । भगत विरुद्ध २०७४ पुस १७ गते सैनिक अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएपछि उनी मकवानपुरको भीमफेदी कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।

निवेदक भगतले अफूलाई विस्तृत शान्ति सम्झौता, तत्कालिन सात राजनीतिक दल र बिद्रोही माओवादीबीच भएको सहमति लगायतको भावनाविपरित फैसला सुनाइएको दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित विभिन्न उच्च ओहोदामा रहेका २१ जना विरुद्ध सर्वोच्चमा मुद्धा दायर गरेका छन् ।

रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरि फुयाँल, रमणकुमार श्रेष्ठ, गोविन्द बन्दी, बालकृष्ण न्यौपाने, उपेन्द्रकेसरी न्यौपाने, तुलसी भट्ट, शेरबहादुर केसी, रामप्रसाद श्रेष्ठ र एकराज भण्डारीले बहस गर्ने भएका छन् ।

Advertisement

Advertisement

Advertisement