प्राधिकरणका कर्मचारी संघका अध्यक्षको आरोप– कुलमानले विनियम मिचे, दर्जनौ भ्रष्टाचार गरे

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका काँग्रेस निकट कर्मचारी संघका जनार्दन भट्टराईले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पटक पटक कर्मचारी विनियमको उल्लङ्घन गरेको र घिसिङले गरेको भ्रष्टाचारहरुको प्रमाण आफूसँग रहेको आरोप लगाएका छन् ।

सो संघसम्वद्ध वाग्मती क्षेत्रीय समितिको भेलामा शुक्रबार प्राधिकरणको आधिकारिक युनियनको अध्यक्षसमेत रहेका भट्टराईले भने– मलाई लोडसेडिङका मतियार भने भनुन्, जे जे भन्नुछ भनुन । एमडी (कार्यकारी निर्देशक घिसिङ)ले विधि र नियमलाई मिचेर काम गर्नुभएको छ । मिच्ने मात्रै होइन, बलात्कार गर्नुभएको छ ।

आधिकारिक युनियनको निर्वाचन नजिकिएको बेला आफ्ना युनियनसम्वद्ध कर्मचारीहरुलाई मात्रै पूर्वाग्रह राखेर सरुवा गर्ने काम गरेको भन्दै घिसिङदेखि आक्रोसित देखिएका अध्यक्ष भट्टराईले विनियम विपरित कर्मचारीहरु सरुवा गर्ने काम गरेको बताए ।

उनले प्रश्न गरे– कर्मचारी विनियमअनुसार अहिले कर्मचारी सरुवा गर्ने समय हो ? यहाँभित्र सुशासन गर्न नसक्ने, बाहिर लोकप्रियताका लागि दौडिने ? कोशी कोरिडोर प्रसारणलाइन आयोजनामा पनि आफू अनुकुलको ठेक्का दिन नियम मिच्ने काम गरिएको भट्टराईको आरोप छ ।

बाहिर पपुलर भएपछि प्राधिकरणभित्र कसैले केही गर्न सक्दैन भनेर एमडीले धेरै बदमासी गरेको आरोप लगाउँदै उनले आफूहरुसँग घिसिङले गरेको दर्जनौ भ्रष्टाचारका प्रमाणहरु रहेको र त्यसलाई सार्वजनिक गर्नेगरी आउने योजना बनाएको बताए । लोडसेडिङ न्यूनीकरण गरेको भन्दै बाहिर चर्चा कमाइरहेका घिसिङमाथि आलोचना गर्दै भट्टराईले लामो समय खर्चिए ।

अध्यक्ष भट्टराईले पूर्वाग्रह राखी गरिएका कर्मचारीहरुको सरुवा नसच्याए आधिकारिक युनियनको निर्वाचन हुन नसक्ने चेतावनी दिए ।

माथिल्लो तामाकोशीको लागत किन दोब्बर बनाइयो ?
कर्मचारी संघका अध्यक्ष भट्टराईले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत ३५ अर्बबाट ७० अर्ब पुर्याउनुको पछाडि ठूलो भ्रष्टाचार रहेको बताए । उनले कस्को पालामा कति भेरियशन भएर लागत ७० अर्ब पुगेको हो ? त्यसको लेखाजोखा हुनुपर्ने बताए ।

भट्टराईले ३५ अर्बको आयोजनाको लागत दोब्बर बनाउँदा हाम्रो सेयरको मूल्य के हुन्छ भन्दै आयोजना बन्नु मात्रै ठूलो कुरा होइन् भने ।

Advertisement

Advertisement

Advertisement