‘जसले बोल्याबोल्यै गर्नुपर्ने (देउवा) ऊ बोल्दैन, जसले बोल्नुनपर्ने (ओली) ऊ बोल्याबोल्यै गर्छ’

Advertisement

काठमाठौं । काँग्रेस युवा नेता गगन थापाले प्रमुख प्रतिपक्षी दलको नेता शेरबहादुर देउवाको मौनता र प्रधानमन्त्री केपी ओलीको धेरै बोल्ने प्रवृत्तिको आलोचना गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणमा काँग्रेस निकट कर्मचारी संघको वाग्मती समितिको भेलामा थापाले भने, ‘हाम्रो ठिक उल्टो भइरहेको छ । प्रमुख प्रतिपक्षी दलको नेता जो बोल्याबोल्यै गर्नुपर्ने हो, ऊ बोल्दैन् । बोल्नुनपर्ने व्यक्ति भने बोल्याबोल्यै गरेर जनता आजित भइसके ।’

थापाले यस्तो आनन्दको प्रतिपक्ष पाउँदा पनि अहिलेको सरकारले डेलिभर गर्न नसके कहिले गर्ने भनी प्रश्न गरे । नेपालको इतिहासमा सबैभन्दा बलियो सरकार अहिले भएको र यो सरकारसँग धेरै आशा र अपेक्षा भए पनि सर्भिस डेलिभरी गर्न नसक्दा विशेषगरी युवाहरुमा निराशा र आक्रोस बढ्दै गएको आफूले मुलुकको भ्रमणमा पाएको उनले बताए ।

नेता थापाले काम गर्ने युवा जनशक्ति मुलुकमा रोजगारी नपाएर लाखौको संख्यामा बाहिरिरहेको भन्दै यो जनशक्तिलाई रोकेर अबको १५ देखि २० बर्षभित्रमा मुलुकले प्रगति गर्यो भने गर्यो, त्यसपछि प्रगति गर्न नसक्ने बताए । मुलुकले यतिबेला डेमोग्राफिक बोनस लिनसक्नुपर्छ, पछि ढिलो हुन्छ– उनले भने ।

थापाले अहिलेको संघीय गणतन्त्रात्मक पद्दतीलाई फेरि परिवर्तन गर्नतर्फ लाग्न नहुने भन्दै त्यसले हाम्रो विकास प्रयासलाई झन अबरुद्ध पार्ने र झन निराशा बढ्ने बताए । पहिले संविधानसभाको निर्वाचन गर्ने, कहिले गणतन्त्र ल्याउने, कहिले संविधान बनाउने, कहिले निर्वाचन गर्ने, कहिले बहुमतको सरकार भनेर जनतालाई धेरै समय कुराइसकिएकाले अझै जनतालाई कुराउने काम गर्न नहुने उनले बताए । थापाले एमाले र माओवादी मिल्नुथियो भने २०५३ सालमै मिलिदिएको भए लामो समय खेर जाँदैन्थ्यो भने ।

Advertisement

Advertisement

Advertisement