अलैंची खेतीमा आकर्षण बढ्यो

Advertisement

जाजरकोट । नेपालमा पूर्वी पहाडबाट शुरु भएको कालो सुन नामले परिचित अलैंची खेतीमा जाजरकोटका कृषकको आकर्षण देखिएको छ । किसानको उत्साह र लगनशीलतालाई ध्यान दिँदै स्थानीय सरकारले किसानमुखी कार्यक्रम ल्याएर जीवनस्तर उठाउने अभियानमा लागेका छन् ।

कृषिप्रधान देशमा कृषिमुखी कार्यक्रम चलाउन सकिए मात्र किसानको आर्थिक जीवनस्तर माथि उठ्न सक्ने भेरी नगरपालिकाका नगरप्रमख चन्द्रप्रकाश घर्तीले बताए । छोटो समयमा राम्रो आम्दानी दिने र निर्यातको पनि राम्रो सम्भावना भएको अलैंची खेतीमा यहाँका कृषकको आकर्षण बढेसँगै स्थानीय सरकारको सहयोग पनि बढ्न थालेको छ ।

अलैंची खेतीले अन्य बाली भन्दा धेरै आम्दानी दिने भएकोले पछिल्लो समय जिल्लाका कृषक यसको खेती गर्न उत्साहित हुन थालेका छन् । भेरी नगरपालिका–१० स्यालाकी इन्द्रा घर्तीले अहिले ५० रोपनी क्षेत्रफलमा अलैंचीखेतीे विस्तार गरी अगुवा किसानको रुपमा स्थापित भएका छन् ।

पूर्वी जिल्लाका अलैंची खेतीबाट प्रभावित भई उनले दुई वर्षदेखि यो खेती शुरु गरेका हुन् । थोरै लगानी र परिश्रम गर्न सके केही वर्षमै लाखौंको आम्दानी गर्न सकिने उनको भनाइ छ । राम्रो आम्दानी हुने भएकोले व्यावसायिक रुपमा यो खेतीको थालनी गरेको इन्द्राले सुनाए । २२ लाख रुपियाँको लागतमा इन्द्राले ५० रोपनी क्षेत्रफलमा अलैंचीे विस्तार गरेकी छिन् ।

छहरी कृषि फार्म स्थापना गरी पूर्व इलामबाट बिरुवा ल्याएर जिर्मल जातको अलैंची रोपेकी छिन् । जन्म घर सुर्खेत र कर्म घर ताप्लेजुङ भई हाल यहाँ बस्दै आएकी उनले परम्परागत अन्य खेतीबाली भन्दा अलैंची खेतीबाट धेरै राम्रो आम्दानी गर्न सकिने बताइन् ।

‘नगरपालिकाबाट यो खेतीलाई विशेष सहयोगको आश्वासन पाएको छु,’उनले भनिन् । अहिले अलैंची उत्पादन शुरु भएको उनले बताइन् । सो फर्ममा एक हजार ५०० देखि दुई हजार क्वीन्टल अलैंची उत्पादन हुनेछ । भेरी नगरपालिकाका विभिन्न वडामा अलैंचीखेती गर्ने किसानको सङ्ख्या ह्वात्तै बढेको छ ।

अलैंचीको विस्तारले नगरपालिकाको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने भएकाले नगरपालिकाले विशेष कार्यक्रम लागू गरेको नगरप्रमुख घर्तीले बताए । ‘अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले यहाँका किसानलाई अलैंचीको विरुवा वितरण गरेको हो ’, उनले भने ।

नगरपालिकाले त्यस क्षेत्रमा कृषि उत्पादकत्व बढाउन क्रियाशील किसानलाई हौसला बढाउन प्याकेजमा कार्यक्रम सञ्चालन गरेको उनको भनाइ थियो । अलैंचीको अन्तर्राष्ट्रिय बजारमा अहिले मूल्य घट्न थालेको छ । शुरुमा एक किलोको दुई हजार ५०० रुपियाँसम्म बिक्री हुने गरेको थियो । अहिले ६०० देखी एक हजार २०० रुपियाँसम्ममा बिक्री भइरहेको जनाइएको छ । अलैंचीबाट विभिन्न प्रकारका मसला, बिस्कुट, बासनादार तेल, औषधिलगायत बनाइने गरिन्छ ।

Advertisement

Advertisement

Advertisement