जीप दुर्घटनामा एक वर्षया बालिकाको मृत्यु, १० घाइते

Advertisement

सिमरा । पर्सा राष्ट्रिय निकुञ्ज नजिकै शनिबार बिहान यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा एक वर्षिया बालिकाको मृत्यु भएको छ । सिमराबाट काठमाडौंको लागि छुटेको ना १ ज २८८१ नम्बरको जीपले सडकछेउमा रोकिराखेको लु २ ख ४९६ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य १० जना यात्रु घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी एक वर्षीया बालिका सञ्जना तामाङको उपचारको क्रममा विरगञ्जस्थित न्युरो हस्पीटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

काभ्रे नमोबुद्ध नगरपालिका–२ घर भइ डुमरवाना बस्दै आएका सुजन तामाङ परिवार सहित काठमाडौं जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा सुजन सहित उनकी पत्नी शान्ति, छोरा साजन र छोरी सञ्जना घाइते भएका छन् ।

घाइतेमध्ये साजनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । साजनको पनि वीरगन्ज न्युरोमा उपचार भइरहेको छ । सुजन र शान्तिको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा जीप चालक बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१४ डुमरवानाका नारायण श्रेष्ठ सहित सोही ठाउँका शंकर राई, जीतपुर सिमरा–३ का सञ्जिव पौडेल, १२ वर्षीय बालक निशप पौडेल, जीतपुर सिमरा–१ का लिलबहादुर बिश्वकर्मा, जीतपुर सिमरा–१५ की सीता खतिवडा, जीतपुर सिमरा–१४ का बिखबहादुर घर्ती पनि घाइते भएका छन् ।

घाइतेमध्ये सञ्जिब र निशपलाई काठमाडौं लगिएको छ । अन्य घाइतेको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक हमालका अनुसार बिग्रिएर रोकिराखेको ट्रकको पछाडी जीपले ठक्कर दिएको थियो । निकुञ्ज क्षेत्रको जंगलमा जीपम तिब्र गतिमा रहेको र चालकको लापरवाही देखिएको प्रहरी निरीक्षक हमालले बताए ।

Advertisement

Advertisement

Advertisement