जलविद्युत आयोजनासमेत बनाइसकेको लालीगुराँस सहकारीले अब डेरी उद्योगमा लगानी गर्ने

laliguras-cooperative

काठमाडौं । ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले अब डेरी उद्योगमा लगानी गर्ने जनाएको छ । यस सहकारीको लगानीमा चितवनमा नेपालकै ठूलो गाई फार्म सञ्चालन भइरहेको छ ।

यसअघि सिन्धुपाल्चोकमा तीन मेगावाट क्षमताको भैरवकुण्ड जलविद्युत आयोजना बनाइसकेको यस सहकारीले शनिबार आयोजित आफ्नो १९औं बार्षिक साधारणसभामा डेरी उद्योग सञ्चालनको तयारी भइरहेको जनाएको हो । डेरी सञ्चालनका साथै आफूले उत्पादन गरेको दुधको बजारीकरण गर्न चितवनको पर्सामा आफ्नो सदस्य सुविधा काउन्टर थप गर्ने सो संस्थाका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीले जानकारी दिए ।

nic-asia

त्यसबाहेक यस सहकारीले अस्पताल, विद्यालय पनि सञ्चालन गर्दै आएको छ । संस्थाले आउँदो आर्थिक बर्षमा काठमाडौंकै न्यूरोड र बालाजुमा सदस्य सुविधा काउन्टर थप गर्ने पनि जनाएको छ । यसअघि उसले चाबहिल र भक्तपुरको गट्ठाघरमा पनि यस्तो काउन्टर सञ्चालन गर्दै आएको थियो ।

साधारणसभामा संस्थाले २५ संस्थापक सञ्चालक, पाँच पुर्वअध्यक्ष, संस्थाका ज्येष्ठ सेयर सदस्यहरु २१ जना, एसइइ परीक्षामा उत्कृष्ठ स्थान ल्याउने १५ विद्यार्थीहरुलाई पनि सम्मान गर्यो । साथै, सभाले शेयर सदस्यहरुलाई १८ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कार्यक्रममा सभामुख कृष्णबहादुर महरा, काँग्रेस नेता बालकृष्ण खाँड, नेकपाका नेता राजेन्द्र पाण्डे, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडाल, नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमला, राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेललगायतले बोलेका थिए ।