सेयरमा लगानी गर्न यो अनुकुल समयः धितोपत्र बोर्ड

Advertisement

काठमाडौं । पुँजीबजारको नियमक संस्था नेपाल धितोपत्र बोर्डले लगानीको लागि अहिले उपयुक्त समय भएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेको छ । बोर्डले विज्ञप्ति नै जारी गरी ढुक्क भएर लगानी गर्न पनि आग्रह गरेको छ ।

सेयर बजार लामो समयसम्म निरन्तर ओरालो लाग्दासमेत सरकारले लगानीकर्ताको लगानीको सुरक्षाप्रति चासो नदिएको भन्दै आलोचना बढिरहेको बेला केही दिनअघि अर्थ मन्त्रालयले पुँजी बजारको समस्या अध्ययन गर्न भन्दै डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो ।

सेयर बजार परिसुचक नेप्से घट्दै एक हजार १५० बाटसमेत ओरालो लागेको बेलामा बोर्डले विभिन्न आधारसमेत प्रस्तुत गर्दै सेयर बजारमा लगानी गर्दा समस्या नहुने सुझाव दिएको हो । पुँजी बजारको सुधार र अर्थमन्त्री युवराज खतिवडाको राजीनामाका लागि भन्दै केही लगानीकर्ता अनशनमा बसेकै दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको थियो ।

बोर्डले देशमा राजनीतिक स्थायित्व कायम भईसकेको, सरकारले वित्तीय प्रणालीमा विभिन्न सुधारका कार्यक्रमहरु अगाडि बढाई पूँजीबजारमार्फत देशको आर्थिक समृद्धिमा जोड दिएको, सूचीकृत संगठित संस्थाहरुले साधारण सभा गर्ने क्रममा रहेका, साधारण सभा गर्ने संस्थाहरुले लाभांसको समेत घोषणा गरिरहेको, धेरै जसो सूचीकृत संगठित संस्थाहरुले प्रकाशन गरेको यस आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिको वित्तीय विवरणमा नाफाको अवस्था देखिएको जस्ता कारणहरु देखाउँदै बोर्डले अब लगानी गर्दा जोखिम नहुने तर्क अघि सारेको हो ।

त्यस्तै, बोर्डले हाल बजार विकास तथा सुधारका लागि विभिन्न कार्यक्रमहरु अगाडि बढाईएको, पूँजीबजारमा विगत केही समयदेखि रहेको भ्याटको अन्यौलता समाधान गरिएको, बजारको दीर्घकालिन विकासको लागि सरकारले प्रोत्साहन मूलक नीति अगाडि बढाएको, धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा विस्तार भइसकेको, दोस्रो बजारको कारोवार पूर्ण स्वचालित अनलाईन प्रणालीमा जाने क्रममा रहेको जस्ता कारणहरुले पनि पुँजी बजारमा अब सुधार आउने जनाएको छ ।

सेयर बजारमा लगातार ओरालो लाग्दा धेरै लगानीकर्ताको अवस्था दयनीय भएको, सरकार तथा नियमक निकायहरुप्रति उनीहरुको आक्रोस बढ्दै गएको बेला बोर्डले उनीहरुलाई आश्वस्त बनाउन खोजेको देखिन्छ । पछिल्लो समयमा बैंकहरुले ब्याजदरमा गरेको उच्च ब्याजदर र ऋणपत्र जारी गरेबाट पुँजीबजारमा निकै सुधार आइहाल्ने अवस्था भने देखिन्न ।

Advertisement

Advertisement

Advertisement