अमेरिका जाने सपनाले साढे दुई करोड पनि सकियो, जेल पनि पुर्यायो

Advertisement

काठमाडौं । करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरूलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्‍याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरू स्वदेश फर्किएका हुन् ।

रोल्पाका २२ वर्षीय नरेन्द्र घर्तीमगर १ असोज ०७४ मा अमेरिका जान हिँडेका थिए । अमेरिका पुग्ने आसमा उनले ४८ लाख ५० हजार सिध्याए । भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाइटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आइल्यान्ड पुगे । तर, अमेरिका पुगेनन् । टिटस आइल्यान्डमा सात महिना जेल परे । उनीसँगै गएका रोल्पाकै ३१ वर्षीय शेरबहादुर घर्तीले पनि सोही जेलमा सात महिना बिताए । अमेरिका पुग्ने आसमा उनको पनि ४७ लाख २३ हजार सकियो ।

रोल्पाकै २३ वर्षीय भीमप्रसाद बाठामागर ०७४ पुसमा अमेरिकाका लागि हिँडेका थिए । उनी पनि दिल्ली हुँदै मस्को, क्युवा र पानामा पार गरेर हाइटीसम्म पुगे । तर, अमेरिका छिर्न सकेनन् । हाइटीको विभिन्न सहरमा अलपत्र परेपछि करिब ११ महिनापछि उनी रित्तो हात नेपाल फर्किका छन् ।

भीमप्रसादसँगै गएका थिए, रोल्पाकै बमबहादुर डाँगी र दाङका मोहम्मद जावेद । बमबहादुर र मोहम्मदले ४५–४५ लाख खर्च गरे । तर, अमेरिका टेक्न पाएनन् ।

पाँचै युवा फसाउने गिरोह एउटै, सुदर्शन गौतम नाइके ः प्रहरी
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले फरक–फरक मितिमा दुवै समूहलाई अमेरिका लैजाने प्रलोभनमा लाखौँ रुपियाँ असुल्ने गिरोह एउटै भएको जनाएको छ । प्रहरीका अनुसार मुख्य योजनाकार हिम्मतवाली फिल्मका नायक सुदर्शन गौतम हुन् । सुदर्शनको गिरोहमा रुकुमका २१ वर्षीय विश्व बाठामगर, उनका दाइ गोकर्ण बाठामागर, पर्वतका शिव शर्मा बास्तोला र बाग्लुङका जगन्नाथ कँडेल छन् ।

महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले अमेरिका लैजान भन्दै लाखौँ असुलेर हाइटी लगेर अलपत्र पार्ने गिरोहका योजनाकार सुदर्शन गौतम रहेको बताए । ‘सुदर्शन गौतमले नेपाली नागरिकता त्यागेर क्यानडाको नागरिकता लिएका छन् । उनको यसअघि पनि मानव तस्करीमा संलग्नता देखिएको छ । यो घटनामा पनि उनैका संलग्नता देखिन्छ,’ एसएसपी सिंहले भने, ‘हामीले यसअघि नै गौतमविरुद्ध रेडकर्नर नोटिस जारी गर्न भनेका हौँ । तर, किन हो अझै हुन सकेको छैन । सोही कारण उनले धेरै नेपाली युवालाई पीडित बनाइरहेको देखिन्छ ।’

अमेरिकामा रहेको भन्दै हाइटीमा बसेर धन्दा
सुदर्शनको गिरोहका विश्व बाठामगर हाइटीमा बस्छन् । तर, उनले आफू अमेरिकामा रहेको भन्दै विभिन्न प्रलोभनमा ग्राहक संकलन गर्ने गरेको प्रहरीले जनाएको छ । उनी फेसबुकमार्फत व्यक्तिहरूको सम्पर्कमा पुग्छन् । अमेरिका आउन तयार गरेपछि काठमाडौंमा रहेका दाइ गोकर्णसँग सम्पर्क गराउँछन् ।

रकम बुझ्नेदेखि नेपालको सबै प्रक्रिया मिलाउने काम गोकर्णले गर्छन् । उनैले ग्राहकलाई भारतको दिल्लीसम्म पुर्‍याउँछन् । दिल्लीमा शिव शर्मा बास्तोलाको जिम्मा लगाउँछन् । दिल्लीबाट हाइटीसम्मको सबै प्रक्रिया मिलाउने काम शिवले गर्छन् । जहाजमार्फत मस्को, हवाना, पानामा हुँदै ग्राहक जब हाइटीको पोर्ट अफ प्रिन्स पुग्छन्, त्यहाँ रिसिभ गर्न जगन्नाथ कँडेल आइपुग्छन् । उनले आफू अमेरिकाबाट आएको भन्दै ग्राहकलाई भ्रममा पार्छन् । हाइटीमा उनीहरूलाई बस्ने–खानेदेखि बाँकी रकम असुल्ने काम उनैले गर्छन् । रकम नदिए ज्यान मार्ने धम्की दिन्छन् । रकम असुलिसकेपछि बेपत्ता हुन्छन् ।

महाशाखाका डिएसपी मनोहर भट्टले भने, ‘गिरोहमा विभिन्न व्यक्ति संलग्न छन् । यी सबैको भूमिका फरक–फरक छ । त्यसमध्ये रकम असुल्ने काम नेपालबाटै हुन्छ । यसमा खासगरी गोकर्ण बाठामगरको संलग्नता देखिन्छ । यी सबैका पछि भने सुदर्शन गौतम नै रहेको अनुसन्धानबाट खुल्छ ।’
आजको नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement