दोहोरो कर खारेजीको माग गर्दे उच्च अदालतमा मुद्दा दायर

Advertisement

काठमाडौं । बुढीगङ्गा गाउँपालिकाले त्यहाँ रहेका उद्योगहरुमाथि विभिन्न शिर्षकमा लगाएको करविरुद्ध मोरङ व्यापार संघले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ ।
व्यापार संघले सोमबार उच्च अदालतमा बुढीगङ्गा गाउँ पालिकाले संविधानविपरीत दोहोरो कर लिएको भन्दै मुद्दा दायर गरेको हो ।

संघका अध्यक्ष पवनकुमार शारडाका अनुसार बुढीगङ्गाले त्यहाँका उद्योगमा यस आर्थिक वर्षदेखि लागु हुने गरी विभिन्न शीर्षकमा अत्यधिक मात्रामा छुट्टै व्यवसाय कर लगाएको छ । जसअनुसार ठूला उद्योगलाई ५ लाख, मझौला उद्योगलाई ३ लाख र साना उद्योगलाई १ लाख कर कायम गरेको छ ।

साथै घर जग्गा करअन्तर्गत उद्योग भवनसमेतमा कर दस्तुर लगाइएको छ । रिट निवेदनमा ‘उद्योगहरूले धेरै अगाडिदेखि करसमेत बुझाई कारोबार गर्दै आएकोमा पुनः पटके सवारी कर, विदेशी सवारी साधनमा लाग्ने दस्तुर र कवाडी कर भनी उद्योगका लागि आउने सवारी तथा कवाडीका सामाग्रीमा दोहोरो कर उठाउन आह्वान गरिएको बोलपत्र नै गैरकानुनी’ रहेको दाबी गरिएको छ ।

पटक–पटक दोहोरो कर लगाउँदा उद्योगी–व्यवसायीको मनोबल खस्कने र उद्योग व्यवसाय नै धराशायी हुनसक्ने संघको तर्क छ । सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले एउटै वस्तुमा पटक पटक कानुन नै नबनाई दोहोरो–तेहरो पाराले कर दस्तुर लिनु नेपालको संविधानविपरीत रहेको संघको दाबी छ ।

बुढीगङ्गा गाउँपालिकाले कार्यपालिकाको बैठकबाट दररेट पारित गरी फलाममा प्रति केजी २ रुपैयाँ, पित्तल, तामा, फलाम, जिङ्कलगायतमा प्रति केजी २.५० र काम नलाग्ने मेशिनरी औजारमा प्रति केजी २ रुपैयाँका दरले लगाएको करले उद्योग व्यवसायको लागतमा वृद्धि भएको अध्यक्ष शारडाले बताए ।

Advertisement

Advertisement

Advertisement