तीन तहका सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी मारमा परेः महासंघ

Advertisement

काठमाडौं । सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय नहुँदा देशभरका निर्माण व्यवसाय मारमा परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । विभिन्न तहका सरकारबीच समन्वय नहुँदा सङ्घीय सरकारले सम्झौता गरी सञ्चालनमा रहेका विभिन्न सडक, भवन, पुललगायतका परियोजनाको भुक्तानीमा अन्योल देखिएको महासंघको भनाइ छ ।

पछिल्लो समय भुक्तानीको समयमा सङ्घीय सरकारले प्रदेश तथा प्रदेश सरकारले सङ्घीय सरकारलाई देखाउँदा अलमलको अवस्था सिर्जना भएको महासङ्घका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परियोजनाको निर्माणमा ढिलाइ हुँदा दोषीको भागिदार निर्माण व्यवसायीलाई मात्र बनाइने गरिएको भन्दै महासंघले आपत्ति जनाएको हो । निर्माण व्यवसायीले जारी गरेको बैंक ग्यारेण्टी समेत केन्द्र वा प्रदेश कुन सरकारको नाममा हुने भन्ने द्विविधा उत्पन्न भएको महासचिव दाहालले बताउनुभयो ।

केन्द्रीयस्तरका परियोजना निर्माणका लागि हाल प्रदेश सरकार सवल नभएको अवस्थामा समस्या समाधान गर्न र भुक्तानी नभएसम्म सम्झौता भएको निकाय केन्द्रीय सरकारबाटै व्यवस्थापन गर्न महासंघले माग गरेको छ ।

देशभरका करीब १५ हजारभन्दा बढी सदस्य रहेको महासंघ विकास निर्माणको जिम्मा लिएका व्यवसायीको छाता सङ्गठन हो । पूँजीगत बजेटको ६५ प्रतिशत खर्च गर्ने यस क्षेत्रलाई व्यवस्थित नबनाइँदासम्म विकास सम्भव नभएको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement