काँग्रेसको निष्कर्ष– ओलीले विकासको सपना मात्रै देखाए, विकास गर्न भने असफल भए

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसले आर्थिक विकासमा वर्तमान सरकार असफल भएको आरोप लगाएको छ । पार्टीको राजनीतिक प्रस्तावबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार आर्थिक विकास गर्ने कुरामा असफल भएको निष्कर्ष निकालेको हो ।

काँग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाई बहुमत हुँदासमेत सरकारले काम गर्न नसक्नु लज्जास्पद भएको भन्दै प्रधानमन्त्री ओलीमा शासकीय क्षमताकै अभाव रहेको तर्क अघि सारे । शर्माले ओलीमा शासकीय क्षमताको अभाव रहेको आफ्नो पार्टीको राजनीतिक प्रतिवेदनको निष्कर्ष रहेको बताए ।

काँग्रेसको मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा सो पार्टीको राजनीतिक प्रतिवेदन पेश हुँदैछ । प्रतिवेदन पेश हुनुअघि आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको, अपराधिहरुलाई संरक्षण गर्ने काम गरेको, भाषणमा विकासका कुरा गर्ने तर अनुकुल समयमा समेत काम गरेर देखाउन नसकेको भन्दै आलोचना गरे ।

साथै, काँग्रेसले परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरु एकधर्म सापेक्षतावादी, एकात्मक राज्यप्रणालीका पक्षमा रहेको, जातीय–अतिवाद र क्षेत्रीय–अतिवादलाई केही जनजातिका नाममा संगठितहरु र तराईमधेसका नाउमा राजनीति गर्नेहरुसहित केही व्यक्तिहरु जसले नेपालको राष्ट्रिय एकता र अखण्डतामाथि नै धावा बोल्ने काम गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

सम्पत्ति आर्जन गर्ने स्वतन्त्रता, जनताको सार्वभौम र निर्णायक भूमिका अस्वीकार गर्ने कम्युनिष्ट पार्टीहरुका अनेक रुपहरु रहेको भन्दै राजनीतिक प्रतिवेदनमा कोही लोकतन्त्रका मौलिक मान्यताहरुलाई आवरणमा स्वीकार गरेझै गरी एकदलीय प्रवृत्तिलाई मलजल गरिरहेको कोही लोकतन्त्रका सबै मूल्यहरुमाथि संगठित प्रहार गरिरहेको, जनतालाई स्वप्नशील आश्वासन, चर्का र उत्तेजक नारा दिदै नेपालमा एकदलवादी कम्युनिष्टहरुले भ्रममा पार्ने प्रयत्न गरेको उल्लेख गरिएको छ ।

नयाँ पुस्तालाई कांग्रेसका आदर्श, सिद्धान्त, आचरण र कर्मवारे अझ जानकार गराउनु आवश्यक रहेको भन्दै सो पार्टीले विगतका सबै कमी कमजोरीहरुलाई आत्मसमीक्षाद्वारा सुधार गरी अबका दिनमा पार्टी नेतृत्वसहित सम्पूर्ण सदस्यहरु जनतामा एकताबद्ध, लोकतान्त्रिक संस्कृतियुक्त, अनुशासित, भ्रष्टाचारमुक्त, व्यवहारकुशल, कर्मशील र उद्यमशील रहेको प्रमाणित गर्ने प्रस्ताव महासमिति बैठकमा प्रस्तुत गरेको छ ।

सरकारको जनविरोधी कामको विपक्षमा सदन र सडकमा सधैं सक्रिय रहने र आवश्यक परे जुलुस, प्रर्दशन र शान्तिपूर्ण आन्दोलनको लागि पनि तयार रहने प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement