‘निक इलेक्ट्रो टेक’ पुस ६ गतेबाट, इलेक्ट्रिक उद्योगहरुमा लगानी बढाउने उद्देश्य

Advertisement

काठमाडौं । विद्युत् तथा विद्युतीय सामग्रीहरुको व्यवसाय विकास गर्ने उद्देश्यले हरेक दुई बर्षमा हुँदै आएको इलेक्ट्रोनिक्स सामानहरुको प्रदर्शनी ‘निक इलेक्ट्रो टेक’ यस बर्ष पुस छ गतेबाट राजधानीको भृकुटीमण्डपमा सुरु हुने भएको छ ।

पाँच दिनसम्म चल्ने यस प्रदर्शनीलाई निक ट्रान्सफर्मरले प्रयोजन गरेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा हुने यस प्रदर्शनबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । इलेक्ट्रो टेकको यो नवौं संस्करण हो । प्रदर्शनीले इलेक्ट्रोनिक्स व्यवसायसँग आवद्ध आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण, लगानीको संभावना, यसको आवश्यकता र महत्वबारे सरकारीको ध्यानाकर्षण गराउन सहयोग पुग्ने आयोजकको भनाई छ ।

‘आर्थिक समृद्धिको संवाहक—उर्जा’ नारा दिएर आयोजना गर्न लागिएको यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा क्षेत्रका वस्तु तथा सेवाका ७५ भन्दा बढि स्टलहरु राखिने छ । जसमा ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरणलगायतका सामग्रीहरु रहनेछन् ।

यसमा नेपाल इकरायत इन्जिनियरिङ कम्पनीले हालै निर्माण गरेको पावर ट्रान्सफर्मर प्रदर्शनीका लागि राख्ने जनाएको छ । जलविद्युत आयोजनाहरुमा प्रयोग हुने यस्तो ट्रान्सफर्मर हालसम्म नेपालले बाहिरबाट आयात गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्षले उर्जा उत्पादनमा भएको वृद्धिसँगै हालको इलेक्ट्रोनिक्स सामग्रीहरुको बजार पनि ह्वात्तै वृद्धि भएर जाने भन्दै यससँगै इलेक्ट्रोनिक्स क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय लगानी पनि बढेर जाने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका निकका प्रवन्ध निर्देशक कुशकुमार जोशीले लोडसेडिङ न्यूनीकरणले विद्युतका उपभोक्ता बढ्दै गएका छन् भन्दै अहिलेको ८० अबको इलेक्ट्रोनिक्स बजारमा ८० प्रतिशत अझै आयातित सामग्रीले ओगटेकोले त्यसलाई न्यून गर्न पनि यस किसिमको प्रदर्शनी सहयोगी हुने बताए ।

उनले ट्रान्सफर्मरमा नेपाल आत्मनिर्भर हुँदाहुँदै पनि यहाँको आन्तरिक समस्याका कारण नेपाली ट्रान्सफर्मर स्वदेशीमा प्रयोग हुन नसकेको बताउँदै आफूहरुले सोही ट्रान्सफर्मर विदेशमा निर्यात गर्दै आएको बताए । जोशीले इलेक्ट्रोनिक्स क्षेत्रमा विदेशी लगानी भित्राउन सरकारले लगानीको बाताबरण बनाउनु जरुरी रहेको बताए ।

Advertisement

Advertisement

Advertisement