धितोपत्र बोर्डको विज्ञप्ति र समिति बनाउने अर्थ मन्त्रालयको निर्णयले पनि सुध्रिएन सेयर बजार

Advertisement

काठमाडौं । सेयर बजार बुधबार स्थिर रहेको छ । बजार परिसुचक नेप्से शुन्य दशमलव ०८ अंकले मात्रै बढेको छ भने २६ करोड ८८ लाख रुपियाँको सेयर किनबेच भएको छ ।

नेपाल धितोपत्र बोर्डले लगानी गर्ने अहिले उपयुक्त समय भएको भन्दै ढुक्कसँग लगानी गर्न विज्ञप्ति जारी गरेको र अर्थ मन्त्रालयले पुँजी बजारको समस्या अध्ययन गर्न भन्दै डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा समिति बनाएपछि बजार केही सुधार आउने आशा गरिएको थियो ।

सँगसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेडले कार्यान्वयनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा रहेको समस्यामा भने सुधार आउँदा पनि सेयरमा सुधार नआउनुको मुख्य कारण बैंकको ब्याजदर भएको विश्लेषकहरु बताउँछन् ।

लगानीयोग्य पुँजीको अभाव देखाउँदै बैंकहरुले निक्षेपसँगै ऋणको ब्याजदरमा समेत ह्वात्तै वृद्धि गरेपछि त्यसको गहिरो प्रभाव सेयर बजारमा परेको छ । ब्याजदरको प्रभाव पहिलेदेखि नै देखिँदै आएको बेला झन बढाउँदा त्यसले लगानीकर्ताहरुलाई लगानी गर्न निरुत्साहित बनाएको छ । बैंकहरुले तरलता अभावकै कारण ऋणपत्रसमेत जारी गरिरहेका छन् ।

महंगो ब्याजदरमा ऋण लिएर सेयरमा लगानी गरेका धेरै लगानीकर्ताहरु बजार निरन्तर ओरालो लाग्दा ठूलो संकटमा परेका छन् । लगानीकर्ताको एउटा समूह नेपाल स्टक एक्सचेन्ज लगाडि पुँजीबजार सुधारको माग गर्दै अहिले धर्नामा समेत बसेको स्थिति छ ।

आजको सेयर कारोबारमा जलविद्युत समूहको उत्साहजनक सुधार देखिए पनि बाँकी अधिकांश समूहको उपसुचकहरु घटेका छन् । जलविद्युत समूहको उपसुचक भने तीन प्रतिशतले बढेको छ । सबैभन्दा बढि होटल समूहमा दुई प्रतिशतभन्दा बढिको गिरावट छ ।

Advertisement

Advertisement

Advertisement