गोदामचौर सामूहिक बलात्कारका दुई अभियुक्त पक्राउ

Advertisement

कठमाडौँ । गत वर्षको मंसिर २ गते भएको ललितपुर गोदामचौरको सामूहिक बलात्कार घटनाका फरार तीनमध्ये दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले ललितपुर गोदावरी नगरपालिका–१ गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र पवन कुँवरलाई बुधबार गोदावरीबाटै पक्राउ गरेको हो।महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले उनीहरू दुबैलाई गोदावरीस्थित एक होटलमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको बताए।

ललितपुर गोदावरी–१ गोदामचौरकी २२ वर्षीया विवाहित युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा उनीहरू फरार थिए। युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा तीनै जना पक्राउ परेका थिए।  जिल्ला अदालत ललितपुरले पुस २६ गते पर्याप्त प्रमाण नभेटिएको भन्दै उनीहरूलाई साधारण तारेखमा छोडेको थियो।

२०७४ माघ २५ गते उच्च अदालत पाटनले मुद्दा उल्टाएसँगै उनीहरू फरार थिए। जिल्ला अदालतको आदेश ‘बेरित’को ठहर गर्दै उच्च अदालतले पीडकहरूलाई थुनामै राख्ने आदेश दिएको थियो। उक्त आदेशसँगै फरार भएका पीडकहरू लामो समय पक्राउ नपरेको भन्दै पीडितले न्याय नपाएको गुनासो गरिरहेका थिए।

मंसिर २ गते साँझ घर फर्किने क्रममा गोदावरी खोलामा युवतीमाथि सामूहिक बलात्कार भएको थियो। टाउकोमा ढुंगा प्रहार गरी घाइते बनाएर उनीहरूले सामूहिक बलात्कार गरेका थिए। हात समेत भाँचेर सामूहिक बलात्कार गरिएकी युवती लामो समय उपचारपछि घर फर्केकी थिइन्।

Advertisement

Advertisement

Advertisement