कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको भन्दै सच्याउन माग

Advertisement

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्ष गोपाल पोखरेलले हालै सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

युनियनले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पोखरेलले उनले भने, ‘नेकपाको सरकारसँग दुई तिहाईको दम्भ छ, त्यही दम्भका कारण हालै कर्मचारी समायोजन अध्यादेश ल्याएको छ, कर्मचारीसँग सम्बन्ध राख्ने अध्यादेश ल्याउँदा सरकारले हामीसँग कुनैपनि छलफल गरेन, संविधान र संसदलाई छलेर ल्याएको अध्यादेशलाई सच्याउनुपर्छ, यसरी चोर बाटोबाट ल्याएको अध्यादेशको बिरुद्धमा आन्दोलन हुन्छ, सरकार श्रमिकहरुको हो भन्छ तर जनताको काम गरेर जीवन धानेको कर्मचारीहरुलाई दबाउने काम गरेको छ ।’

मुलुकको परिवर्तनको लागि निजामती कर्मचारीहरुले ठूलो भूमिका खेलेको भन्दै अध्यक्ष पोखरेलले २०४६ सालपछि पहिलोपटक आफूहरु अपमानित हुनुपरेको पनि गुनासो पोखे । उनले भने, ‘राजतन्त्रमासमेत यसरी कर्मचारीहरुलाई अपमान गरिएको थिएन, नेकपाको दुई तिहाई सरकारले यस्तो कदम उचालेको छ, यो संसदलाई छल्ने काम हो।’

सरकारको यो कदमसँगै जनताका प्रतिनिधिहरुको अपमान भएको उनको आक्रोश छ । पोखरेलले भने,‘यो कदम संविधानविपरित हो, सानालाई ऐन र ठूलालाई चैन भन्ने कुरा यहाँनिर पुष्टि भएको छ, केही प्रशासकहरुको इशारामा यो अध्यादेश ल्याईएको छ, एक तह बढुवा गर्नेगरि कर्मचारी ऐन ल्याउनुपर्ने हाम्रो माग थियो, त्यतिमात्रै होईन प्रशासनिक प्रमुखकोसमेत समायोजन हुनुपर्छ भन्ने हाम्रो माग थियो, जनता र कर्मचारीको पक्षमा काम गर्न नसक्ने सरकारले ललिपपको ढोल पिटिरहेको छ ।’

त्यस्तै कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक संगठन ट्रेड युनियनका महासचिव सुबोध कुमार देवकोटाले संसदलाई छलेर ल्याईएको कर्मचारी अध्यादेशको बिरुद्धमा आन्दालेन गर्ने चेतावनी दिएका छन् ।

उनले भने,‘सरकार मुल बाटो छोडेर चोर बाटोमा हिँडिरहेको छ, यो जनताको मतको अपमान हो, कर्मचारी समायोजनका नाममा सरकारले मनोमानी गरिरहेको छ, संघीयता कार्यान्वयन गर्न सरकारनै बाधा सिर्जना गर्दैछ, हामी परिवर्तनका सम्वाहक हौं, कर्मचारीको नाममा भ्रम सिर्जना गरेर बद्नाम गर्ने काम सरकारबाटै भएको छ, यो दुःखद छ, मेरो संगठनका सबै साथीहरुलाई जानकारी दिएको छु, भोलीका दिनहरुमा पनि कर्मचारीहरुको हितमा काम गर्नको लागि कुनै कसर बाँकी राखिने छैन्, सरकारले कर्मचारीलाई धम्कि दिने काम गरेको छ, थर्काएर कुनै काम हुनेछैन्।’

नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले दुई तिहाईको दम्भको कारण कर्मचारीलाई तहसनहस पार्नेगरि सरकारले अध्यादेश ल्याएको आरोप लगाए ।

उनले भने,‘सरकारले हचुवाका भरमा कुनै सल्लाह र गृहकार्य नै नगरी ल्याएको अध्यादेशको बिरुद्धमा उभिन सम्पूर्ण कर्मचारहरुलाई आग्रह गर्न चाहन्छु ।’ नेपाल निजामती कर्मचारी युनियनका महासचिव सुवास कुमार कोईरालाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Advertisement

Advertisement

Advertisement