नेता पौडेलको पुस्तक विमोचन, धर्म परिवर्तन गराउने क्रम बढ्यो, चिन्ता लाग्यो: प्रथम राष्ट्रपति

Advertisement

काठमाडौं । प्रथम राष्ट्रपति रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवाद’ को बिहीबार विमोचन गर्दै उनले काँग्रेसको विचार र सिद्धान्तअनुसारको संविधान जारी भएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा काँग्रेस नै बढी जिम्मेवार हुनुपर्ने बताए ।

उनले संविधानमा धर्म निरपेक्षताको व्यवस्था भए पनि मुलुकका विभिन्न भागमा धर्म परिवर्तनको क्रम तीव्र रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । काँग्रेसका संस्थापक नेता बिपी कोइरालाद्धारा प्रतिपादित लोकतान्त्रिक समाजवाद आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै यादवले पार्टीभित्र गुटउपगुट अन्त्य गरी एक भएर अघि बढ्न काँग्रेसलाई सुझाव दिए ।

विकास निर्माणका ठूला पूर्वाधारले तराई र चुरे क्षेत्रको वन विनाश हुँदा भूक्षय र मरुभूमिकरण बढ्दै गएको भन्दै उनले यसलाई संरक्षण गर्न ध्यान दिनुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले काँग्रेस र कम्युनिष्टको समाजवादका सम्बन्धमा देखिएको विवाद र बहसको सन्दर्भमा आफूले पुस्तकमा समाजवादका सम्बन्धमा स्पष्ट पारेको बताए । विश्वमा राजनीतिक विचारधारा कमजोर भयो भने समाजमा अराजकता र विचलन हुने भन्दै उनले विचारकै प्रधानता हुनुपर्ने बताए ।

काँग्रेसमा विचारको खडेरी नभई बहसको आवश्यकता रहेको पौडेलको भनाई छ । पुस्तक जनता प्रसारण तथा प्रकाशन लिमिटेडले प्रकाशन गरेको हो ।

काँग्रेस केन्द्रीय सदस्य रामशरण महतले काँग्रेसले भनेको समाजवाद लोकतान्त्रिक पद्धतिबाट प्राप्त हुने र कम्युनिष्टले चाहेको समाजवाद वर्ग सङ्घर्षबाट प्राप्त हुने बताउँदै काँग्रेसले अवलम्बन गरेको लोकतान्त्रिक समाजवाद, उदार अर्थनीति, लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिष्ट दलहरु आउनु खुशीको कुरा हो भने ।

नेपालमा प्रजातन्त्र पुनःस्थापनापछि काँग्रेस नेतृत्वका सरकारले अवलम्बन गरेका नीतिबाट नै शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, व्यापारलगायत क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको उनले बताए ।

केन्द्रीय सदस्य प्रदीप गिरीले ग्रामीण क्षेत्रका निमुखा जनताको हितमा काम गर्न गान्धी, माओ र बिपीका विचारलाई आत्मसात् गर्नुपर्ने बताए । जनतालाई समावेश नगरी गरिने विकास दिगो र प्रभावकारी नहुने उनले बताए ।

प्राध्यापक लोकराज बरालले राजनीतिमा समाजवादका विभिन्न परिभाषा र नाम भए पनि निमुखा जनताको हितमा गरिने काम नै वास्तविक समाजवाद हो भने । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा र जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष विजय पौडेलले पुस्तकका प्रमुख विशेषताका बारेमा चर्चा गर्दै समाजवादको स्थापना र उद्देश्यका बारेमा आफ्ना धारणा राखेका थिए ।

Advertisement

Advertisement

Advertisement