मोरङ । साढे ३३ किलो सुन तस्करी काण्डमा परेका विमल पोद्दारलाई विराटनगर उच्च अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीसँगै व्यवसायी राजेन्द्रकुमार शाक्य पनि १० लाख धरौटीमै रिहा हुँदै छन् ।
व्यवसायी विमल पोद्दार र आर के भनिने राजेन्द्रकुमार शाक्य साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी काण्डमा परेका थिए ।
न्यायाधीश नागेन्द्रलाभ कर्ण र थिरबहादुर कार्कीको इजलासले पोद्दार र शाक्यलाई १०– १० लाख धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले बताए ।
विमल पोद्दार भारतीय नागरिक हुन् । उनलाई, हुण्डीमार्फत सुन तस्करी प्रकरणमा सहयोग गरेको पक्राउपछि खुलेपछि मुद्दा दायर गरिएको थियो । उनी गत असार ६ गते पक्राउ परेका थिए ।
जिल्लाको आदेशपछि थुनामा रहेका पोद्दारले गत असोज १६ गते आदेश बदर गर्ने मागसहित उच्च अदालतमा पुनरावेदन गरेका थिए । छ पटक पेसी सरेको पोद्दारको मुद्दामा बिहीबार आदेश गरिएको हो ।
अदालतको आदेशपछि गत जेठ ८ गते कारागारमा रहेका आरके भनिएका शाक्यले गत साउन १ गते उच्च अदालतमा निवेदन दायर गरेका थिए । शाक्यको हकमा २६ पटक पेशी सरेपछि २७ औ पटकमा धरौटीमा छाड्ने आदेश आएको हो ।