विद्युत चुहावट कम गर्न प्रधिकरणले गर्यो कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारका लागि विभिन्न कार्यलयका प्रमुखहरुसँगको कार्यसम्पादन सम्झौतालाई तिव्रता दिएको छ । यसैक्रममा प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय (डिसिएस)को हेटौडा क्षेत्रीय कार्यालय अन्तर्गतका शाखा प्रमुखसँग शनिबार कार्यसम्पादन सम्झौता गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीले कार्यसम्पादन सम्झौता गरेका छन् । उक्त कार्यसम्पादन सम्झौता ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव सञ्जय शर्मा र प्राधिकरणका सञ्चालक विश्वप्रकाश गौतमको उपस्थितिमा भएको हो ।

कार्यक्रममा डिसिएसका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग क्षेत्रीय कार्यालय अन्तर्गतका १० वटा शाखा प्रमुखहरुले पनि सम्झौता गरेका छन् । प्राधिकरणले जनकपुर, नेपालगंज तथा सुर्खेत क्षेत्रीय कार्यालयका प्रमुख र त्यसअन्तर्गतका वितरण केन्द्र प्रमुखसँग यसअघिनै सम्झौता गरिसकेको छ । कार्यकारी निर्देशक घिसिङले समेत ऊर्जा मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी यसको अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकहरुको वस्तुनिष्ठ मूल्याकंन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको जनाइएको छ ।

कार्यक्रममा मन्त्री पुनले सेवा प्रवाह गर्ने शैलीलाई सुधार गरी प्राधिकरणलाई प्रतिश्पर्धी, सक्षम र सवल संस्था बनाउन केन्द्रित हुन निर्देशन दिए । विद्युत् चुहावट हुँदा प्राधिकरणले आम्दानी गुमाइरहेको उल्लेख गर्दै मन्त्री पुनले चोरी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न र प्राविधिक चुहावट नियन्त्रणका लागि प्रणालीलाई सुदृढीकरण गर्न निर्देशन दिए ।

कार्यकारी निर्देशक घिसिङले पारदर्शी, नैतिकवान, व्यवसायिक र कार्यालयमा चेन अफ कमाण्ड कायम गर्दै निर्धक्क र निडर भएर काम गर्न शाखा प्रमुखहरुलाई निर्देशन दिए । विद्युत् चोरी नियन्त्रण अभियान चलाउन, प्रणाली सुदृढीकरण गर्न, वक्यौता असुलीमा कडाइ गर्न लगायतका निर्देशन उनले दिए ।

वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरिय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरबृद्धि गर्ने लगायतका कार्यसम्पादन सूचांक निर्धारण गरिएको छ ।

हरेक क्षेत्रीय कार्यालय र त्यस मातहतका बितरण केन्द्रलाई चुहावट नियन्त्रण,औसत महसुल संकलनको अवधि घटाउने विषयलाई मुख्य लक्ष्य (टार्गेट)निर्धारण गरिएको छ । कार्य सम्पादनको हरेक चार चार महिनामा मूल्याङकन गरिने प्राधिकरणले जनाएको छ ।

हरेक वितरण केन्द्रलाई चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको टार्गेटको कम्तिमा ५० प्रतिशत प्रगति हासिल गरेमा प्रमुखलाई निश्चित रकम नगद प्रोत्साहन भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसैगरि, टार्गेट हासिल गर्नेले पाएको नम्बर बढुवामा जोड््ने, विदेशमा आयोजना तालिम, सेमिनारमा जान प्राथमिकता दिने लगायतका गैर नगद प्रोत्साहन समेत पाउने छन् ।

यदि ५० प्रतिशतभन्दा कम लक्ष्य हासिल गरेमा त्यसलाई कमजोर कार्यसम्पादन मानी बढुवामा सोही अनुसार नम्बर दिने र नगद तथा गैर नगद प्रोत्साहन नपाउने लगायतको व्यवस्था गरिएको छ ।

गत असारसम्म प्राधिकरणको प्रणालीमा औसत २०.४५ प्रतिशत विद्युत् चुहावट छ । हेटौडा क्षेत्रीय कार्यलयअन्तर्गत गत असारसम्मको विद्युत चुहावट १३.३७ प्रतिशत छ ।

Advertisement

Advertisement

Advertisement