सेयर बजार सुधारका लागि रिले अनसनमा बसेका लागानीकर्ताको आन्दोलन आमरण अनशनमा बढोत्तरी

Advertisement

काठमाडौं । सरकारले लगातार रुपमा घटिरहेको सेयर बजारबाट हाजारौं लागानीकर्ताको उठिबास हुँदा समेत सुधारका लागि बेवास्ता गरेको भन्दै सेयर बजार लगानीकर्ताहरूले आमरण अनशन सुरु गरेका छन् । एक सातादेखि रिले अनशन बसेका लगानीकर्ताहरू सरकारले आफ्ना कुरा नसुनेको भन्दै आमरण अनशननै सुरु गरेका हुन् ।

१० बुँदे मागसहित रिले अनशन बसेका लगानीकर्तामध्ये दुईजनाले पुँजी बजार सुधारको माग गर्दै सोमबारदेखि आमरण अनशन बस्ने घोषणा गरेका हुन् । आमरण अनशन बस्ने लगानीकर्ताहरूमा सेयर लगानीकर्ता दबाब समूहका संयोजक समेत रहेका ढकाल र तिलक कोइराला रहेका छन् ।

दबाब समूहका संयोजक ढकालले सरकारले आफ्ना मागहरू सुनुवाइ गर्नुको साटो वार्ताका नाममा भड्काउने काम गरेकाले आमरण अनशनको बाटो रोज्नुपरेको बताए ।

ढकाल र कोइराला नेप्सेको कार्यालय सिंहदरबार अगाडि सोमबार बिहान ११ बजेदेखि आमरण अनशन सुरुगरेका छन् । त्यसक्रममा हाल जारी रिले अनशनलाई पनि निरन्तरता दिइने दबाब समूहका संयोजक ढकालले बताए । दवाब समूहको ब्यानरमा एक सातादेखि सुरू रिले अनशनलाई सेयर लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघले पनि समर्थन जनाएका थिए ।
के के छन् त लागानीकर्ताको मागमा ?

१. सरकारले पूँजी बजारसम्बन्धी धारणा तथा नीति स्पष्ट गरोस् । बजार सुधार तथा बिस्तारका लागि तत्काल विशेष कार्यक्रम ल्याइयोस् ।

२. अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तासम्म पुर्याइयोस् ।

३. धितोपत्र बोर्डले ३ वर्ष अघिदेखि गैरआवासीय नेपाली र विदेशका नेपालीलाई पूँजी बजारमा ल्याउन कार्य्विधि बन्दै गरेको भनेकोमा तत्काल त्यो कार्य्विधि लागू गरी उनीहरुलाई पूँजी बजारमा भित्र्याइयोस् ।

४. सेयर दलालमार्फत मार्जिन ट्रेडिङ खुला गरियोस् ।

५. सेयर धितो कर्जाको सीमा धितो मूल्याङ्कनको ८० प्रतिशत पुर्याइयोस । जोखिम भारित अंश १०० प्रतिशत वा त्यस भन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने ब्यवस्था गरियोस् । प्राथमिक पूँजीको २५ प्रतिशतसम्म नभइ कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा प्रबाह गर्नसक्ने ब्यवस्था गरियोस।

६. धितोपत्र बोर्डले ३ वर्षदेखि बताउँदै आएको मार्केट मेकर र डिलरसिपको तत्काल ब्यवस्था होस् ।

७. ग्रेड ४ र ५ रेटिङ प्राप्त कम्पनीलाई आईपीओ बिक्री गर्न तत्काल बन्देज गरी जलविद्युत र अन्य कम्पनीलाई प्रत्यक्ष नियमनकारी निकायको ब्यवस्थापछि मात्र आईपीओ ल्याउन पाउने ब्यवस्था गरियोस् ।

८. कम्पनीले हकप्रद सेयर बिक्रीको प्रस्ताव सार्वजनिक गर्नु अगावै संस्थापक र आधारभूत सेयरधनीहरुले प्रस्तावित हकप्रदको ७५ प्रतिशत रकम जम्मा गरेपछि मात्र प्रस्ताव सार्वजनिक गर्न र साधारणसभामा पेश गर्न पाउने ब्यवस्था गरियोस् ।

९. सहायक कम्पनी खोलेर आबेदन गरेका बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिनुका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ सेयर दलालहरुलाई तत्काल ब्रोकर लाईसेन्स दिएर पूँजी बजारमा देशभरिका जनताको पहुँच कायम हुने ब्यवस्था गरियोस् ।

१०. कम्पनीहरुले एफपीओ बिक्रीको प्रस्ताव गर्दा प्रति शेयर नेटवर्थ भन्दा मूल्य बढी नहुने शर्तमा मात्र स्वीकृत गरियोस् ।

Advertisement

Advertisement

Advertisement