पुँजी परिचालन क्षमताको विकास गर्दै कतार च्यारिटी

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ट नेता माधवकुमार नेपालले मुस्लिम समुदायको शिक्षालाई आधुनिक शिक्षासँग जोड्ने प्रयास भईरहेको बताएका छन् ।

कतार च्यारिटीले विपन्न परिवारहरुलाई पसलको खोलिदिएर उनीहरुलाई चावी हस्तान्तरण गर्ने अवसरमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

मुस्लिम समुदायलाई आधुनिक शिक्षासँग जोड्ने प्रयासलाई सफल बनाउने उद्देश्यले आफूले रौतहट र महोत्तरीमा ४ जना बालबालिकालाई बिद्यालय भर्ना गरेको नेता नेपालले बताए ।

बंगलादेश लगायतका मुस्लिम देशहरुमा महिला प्रधानमन्त्री रहेको बताउँदै नेता नेपालले मुस्लिम समुदायका महिलालाई पनि मूल धारको राजनीतिमा ल्याउनका लागि स्थानीय निर्वाचनमा ४० प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरिएको बताए ।

चावी हस्तान्तरणको अवसरमा बोल्दै नेता नेपालले कतार च्यारिटीको बिपन्न परिवारलाई पसल खोल्न गरेको सहयोगले मुस्लिम र गैरमुश्लिम समुदायमा पूँजी परिचलान गर्न सक्ने क्षमता विकास गर्न मद्दत पुर्याएको बताए ।

कतार च्यारिटीले शहरी विपन्न परिवारलाई लक्षित गरी काठमाडौं नैकापका गोपाल रोक्का, सतुंगलका भीमबहादुर महर्जन, विशाल मिया, ममता निरौला, गीता खडका, कोटेश्वरका दिलकुमार गुरुङ, मोहम्मद फिरोज, बुढानिलकण्ठका अनिता थापामगर र ललितपुर चापागाँउकी रेणु गिरी, पञ्चकुमारी राई, खोकनाका भोटे मियालाई खुद्रा किराना पसल खोल्न जनही एकलाख ८० हजार बराबरको सहयोग हस्तान्तरण गरेको हो।

उनीहरुलाई उक्त रकम बराबरको किराना सामग्री वितरण गरिएको कतार च्यारिटीका परियोजना प्रवन्धक इर्शाद अलि शेखले बताए । अरब देशको सबैभन्दा ठूलो दातृ निकाय कतार च्यारिटीले ग्रामीण विकास केन्द्रमार्फत उक्त सहयोग गरेको शेखले बताए।

कार्यक्रममा कतार च्यारिटीका नेपाल प्रतिनिधि अब्दुल अजिज्, समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बराल, इस्लामिक रिलिफका नेपाल निर्देशक तलाह जमाल, परियोजना प्रबन्धक इर्शाद अलि शेख, मुस्लिम अधिकारकर्मी मो. मकसुद राँकी, विश्व शिक्षाका समिम अख्तर, लगायतको उपस्थिति थियो।

कतार च्यारिटीले यस परियोजना अन्तर्गत हालै मात्र रौतहटका ६ वटा इश्नाथ, परोहा, गौर, चन्द्रपुर, राजदेवी र माधवनारायण नगरपालिका तथा यमुनामाई गाउँपालिका समेतका २० जनामध्ये १० जनालाई किरानापसल तथा १० जनालाई ठेला पसल संचालनको लागि निशुल्क रुपमा चाहिने सम्पूर्ण सर—समानहरु हस्तान्तरण गरेको छ।

गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीले हालैमात्र सर्लाही र रौतहटका करिब २६४ परिवारलाई ७२ लाख रुपियाँ बराबरको बाख्रा वितरण गरेको थियो । त्यस्तै यसअघि च्यारिटीले तराईका बिभिन्न जिल्लाका आर्थिकरुपले पछाडी परेका, भूकम्प तथा बाढीले प्रभावित, समाजमा पछाडी पारिएका समुदायका झन्डै दुई हजार बढी परिवारहरुलाई करिब एक करोड रुपियाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको थियो।

अरब मुलुकको सवैभन्दा ठूलो गैरसरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ । यो संस्था स्थापनाकाल देखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानवीय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । गत बर्ष मात्रै कतार च्यारिटी र समाज कल्याण परिषदबीच पाँच बर्षे एकीकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको हो।

Advertisement

Advertisement

Advertisement