‘वैदेशिक रोजगारीमा गएका लाखौं युवाको जीवन ‘धराप’मा पार्दिन’

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ का अवसरमा मंगलबार वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले भने, “अझै पनि वैदेशिक रोजगारीका क्षेत्रमा विकृति, विसङ्गति र अपारदर्शीता छन्, अब यस्तो विसङ्गति धेरै दिन रहँदैन, पसिना बगाउने श्रमिक अपमानित बन्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।”

मन्त्री विष्टले आप्रवासी श्रमिकको मर्यादित र सम्मानित जीवनयापनको विषय अन्तर्राष्ट्रिय मुद्दा बनेको उल्लेख गर्दै आप्रवासी श्रमिकको हकतिका पक्षमा सबै राष्ट्रले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय मञ्चमा आप्रवासी कामदारको अधिकारको विषयले प्राथमिकता पाएको अवस्थामा क्षेत्रीय मञ्चका रुपमा रहेको कोलोम्बो प्रोसेस र अन्तरसरकारी मञ्चका रुपमा रहेको सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम)ले पनि श्रमिकलाई न्याय दिने गरी आफ्नो भूमिका केन्द्रित गरेको उनले बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले १५औँ पञ्चवर्षीय आवधिक योजनामा २५ वर्षीय दीर्घकालीन खाका ल्याउने तयारी गरेको जानकारी दिँदै वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याउने तयारी भइरहेको बताए ।

श्रम मन्त्रालयका सचिव महेश दाहालले आप्रवासन विश्वव्यापी प्रवृत्तिका रुपमा विकास हुँदै गइरहेकाले यसलाई व्यवस्थित बनाउनुको विकल्प नभएको बताउँदै “श्रम आप्रवासनका क्षेत्रमा देखिएका समस्या हल गर्दै व्यवस्थित बनाउन सरकारले कानून निर्माण र नीतिगत सुधारको पक्षमा कदम चाल्दै आएको छ”, भने ।

उनले भने, गन्तव्य मुलुकसँग भएको श्रम समझदारीलाई द्विपक्षीय श्रम सम्झौतामा परिणत गर्ने तयारी भइरहेको छ ।”

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका कार्यवाहक अध्यक्ष रामप्रसाद भन्तनाले व्यवसायी सुध्रन तयार रहेको भन्दै सुधारका लागि सामूहिक प्रतिबद्धता र एजेण्डा तयार गर्न प्रस्ताव गरे । उनले विदेशबाट सीप र सभ्यता सिकेर फर्केका युवालाई यही स्वरोजगार बनाउने कार्यक्रम शुरु गर्न आग्रह गर्दै स्वदेशमै प्रशस्त अवसर भएमा वैदेशिक रोजगारी आफै अन्त्य हुन्छ भने ।

बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले वैदेशिक रोजगारीमा गएका कामदार तथा तिनका परिवारको अधिकतम् हकहितको रक्षा, सीपयुक्त जनशक्ति निर्माण, वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र तुलनात्मक रुपमा बढी लाभदायी बनाउन तथा स्वदेश फर्किएका कामदारलाई सामाजिक तथा आर्थिक पुनःएकीकरणका कार्यक्रममार्फत स्वरोजगार हुने वातावरण सिर्जना गर्न बोर्ड क्रियाशील रहेको बताए ।

कार्यक्रममा बोर्ड स्थापना भएको एक दशक पुगेको अवसरमा प्रकाशित स्मारिका विमोचन गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement