‘निर्मलाको हत्या स्वीकार गर्यो’ भनी प्रचार गरिएका प्रदीप र विशालको पनि डीएनए मिलेन

Advertisement

काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको हत्या स्वीकार गर्यो भनिएका सोही ठाउँका दुई युवाको डीएनए नेगेटिभ आएको छ । निर्मलाकै गाउँका ती युवाहरुलाई बलात्कार र हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

गत मंसिर १८ गते काठमाडौँको राजधानीबाट पक्राउ परेका भीमदत्तनगर नगरपालिका–१८ निवासी प्रदीप रावल र विशाल चौधरीको डीएनए रिपोर्ट नेगेटिभ आएको प्रहरी स्रोतलाई उल्लेख गर्दै विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशित गरेका छन् ।

प्रदीपलाई पक्राउ गरेपछि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल आफैले राति २ बजेसम्म उनको बयान लिएको र विशाललाई पनि काठमाडौं झिकाएर सोधपुछ गरिएपछि उनीहरुले हत्या स्वीकार गरेको बाहिर सुचना ल्याइएको थियो ।

सरकारकै रक्षामन्त्री स्वयमले निर्मलाका हत्याराहरु पक्राउ परिसकेको भन्दै सार्वजनिक कार्यक्रममा समेत बोलेका थिए । निर्मलाको हत्या भएकै दिन उनकै घरनजिक रहेको सैनिक व्यारेकका १६ जना सेनाका युवाहरु निस्किएको र उनीहरुमाथि आशंका समेत भइरहेको बेला रक्षामन्त्रीको उक्त अभिव्यक्तिले मानिसहरुलाई थप सशंकित बनाएको थियो ।

हत्याको आशंका गरिएका दुई युवाहरुको डीएनए परीक्षणको रिपोर्ट विधि विज्ञान प्रयोगशालाले प्रहरी प्रधान कार्यालयलाई बुझाइसकेको र सो रिपोर्ट नेगेटिभ आएपछि निर्मला हत्या प्रकरणले अब नयाँ मोड लिने संभावना देखिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा लिइएको बयानमा प्रदीपले सुरुमा आफूले हत्या गरेको साविती बयान किन दिए ? भन्ने पनि प्रश्न उठेको छ । कतिपयले यसलाई प्रहरीले दबाबमूलक ढंगबाट हत्या स्वीकार गर्न लगाएको हुनसक्ने भनेका छन् भने कतिपयले आर्थिक प्रलोभनमा परेर उनीहरुले हत्या स्वीकार गरेको हुनसक्ने बताएका छन् ।

अहिलेसम्म कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, बलात्कारको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसहित २२ जनाको डिएनए परीक्षण गरिएकोमा कसैका पनि डीएनए म्याच हुन सकेको छैन् । यसले प्रहरीको अनुसन्धान थप जटिल र उसमाथिको विश्वासमा थप प्रश्न खडा हुँदै गएको छ ।

निर्मला हत्या प्रकरणमा सुरुदेखि नै प्रमाण मेटाउन लागिपरेको प्रहरीले निर्मलाको भजाइनल स्वाब संकलन गर्ने क्रममा पनि कतै गडबढी गरेको त होइन ? भन्ने प्रश्न पनि उठेको छ । यसअघि ठूलठूला अपराधका घट्नाहरुको समेत सफलतापूर्वक अनुसन्धान गर्दै आएको नेपाल प्रहरीमाथि निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणले एउटा गम्भीर प्रश्न खडा गरेको छ ।

Advertisement

Advertisement

Advertisement