बाणिज्य बैंकलाई व्याजदरमा संयमता अपनाउन राष्ट्र बैंकको निर्देशन

Advertisement

काठमाडौं । ब्याजदर बढाउने बैंकहरुको होडबाजी चलेपछि नेपाल राष्ट्र बैंकले व्याजदर वढाउने बैंकहरुलाई छलफलमा बोलाएर सचेत गराएको छ ।

मंगलबार सम्वन्धित बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बालुवाटार बोलाएर राष्ट्र बैंकले ब्याजदर बढाउने विषयमा संयमता अपनाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले तत्कालका लागि ब्याज नबढाउने प्रतिवद्धता पनि जनाएको छलफलमा सहभागी एक बैंकरले बताएका छन् ।

नेपाल बैंकर्स संघले पनि यस अघि बचत तथा निक्षेपको ब्याजदरमा ११ प्रतिशभन्दा बढी ब्याजदर दिन नपाइने गरी सीमा तोकेको थियो । तर पछिल्लो समयमा वित्तिय समस्या वढेपछि संघले फुकुवा गरेका कारण बैंकहरुले प्रतिस्प्रधात्मक रुपमा ब्याजदर बढाउन थालेका थिए । अब फेरी संघले व्याजदरको सीमा तोक्ने भएको छ ।

बैंकमा लगानी गर्ने रकमको अभाव भएको भन्दै बाणिज्य बैंकहरुले ब्याजदर बढाउने तयारी गरिरहँदा नविल बैंक र हिमालयन बैंकले १३ प्रतिशत ब्याजदर दिने सूचना जारी गरिसकेका थिए ।

शुरुमा ब्याजदर बढाउने प्रतिष्पर्धा जनता बैंक हुदै सेञ्चुरी, कुमारी लगायतका केही बैंकले पनि १३ प्रतिशतसम्म ब्याज दिने निर्णय गरेका थिए । तर, वित्त बजारमा ‘व्याजदर आतंक’ फैलिएपछि ब्याज नबढाउने संघले निश्कर्ष निकालेको थियो । त्यसपछि तत्काल ब्याज नबढाउने विषयमा बैंकहरुबीच भद्र सहमति भएको थियो ।

अर्थमन्त्रालय अन्तर्गत गठन गरिएको छानबिन समितिको प्रतिवेदन नआउन्जेल बैंकहरुले भद्र सहमति गरेका थिए । समितिको प्रतिवेदन गत शुक्रबार नै बुझाउने भनिएपनि पुँजी बजारमा भइरहेको आन्दोलनका कारण प्रतिवेदनले अन्तिम रुप पाउन सकेको थिएन ।

समितिको प्रतिवेदन आउन ढिला भएपछि मंगलबार थप बैंकहरुले ब्याजदर बढाए । सोही कारण राष्ट्र बैंकले व्याजदर आतंकका विषयमा छलफल गर्न बैंकहरुलाइ बालुवाटार बोलाएको हो ।

Advertisement

Advertisement

Advertisement