काँग्रेसमा कुरा मिल्यो, कोषाध्यक्ष र प्रवक्ता मात्रै मनोनित, अरु पदाधिकारी निर्वाचित

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसको जारी महासमिति बैठकमा लामो बहस र विवादपछि कुरा मिलेको छ । पदाधिकारीको संख्या र चयन प्रक्रियामा रहेको मुख्य विवाद मिलाउँदै विधानमा सहमति जुटाइएको छ ।

महासमिति बैठकमा विधान प्रस्तुत नभएको भन्दै प्रतिनिधिहरुले आपत्ति जनाइरहेको बेला विधानमा सहमति गर्न संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार साँझ बसेको बैठकले सहमति जुटाएको हो।

सहमति जुटाउने बैठकमा उपसभापति बिमलेन्द्र निधी, महामन्त्री पूर्णबहादुर खड्का, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । सहमतिअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री दुई, सहमहामन्त्री निर्वाचित हुनेछन् भने एक कोषाध्यक्ष र एक प्रवक्ता मनोनित हुने छन् ।

विधानमा विवाद हुँदा महासमिति बैठक शुक्रबारसम्म लम्बिएको छ । नियमित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार र शुक्रबारको बैठक पार्टी कार्यालय सानेपामा हुनेछ । अहिले सिंहदरबारस्थित यलम्बर पार्टी प्यालेसमा बैठक भइरहेको छ ।

उनले विधान छाप्न समय लागेकाले बैठक लम्बिएको जानकारी दिए । शर्माले बुधबारको बैठकमा विधान मस्यौदा पेश हुने बताए । महासमिति सदस्यहरुले विशेषगरी पार्टी सभापतिको चर्को आलोचना गरेका थिए । उनीहरुले पार्टीमा व्यापक सुधार र कार्यशैलीमा परिवर्तन जरुरी रहेको भन्दै अहिलेको शैलीले पार्टी चल्न नसक्ने बताएका थिए ।

सदस्यहरुले सभापति शेरबहादुर देउवाको राजीनामा पनि माग गरेका थिए । विभिन्न निर्वाचनहरुमा काँग्रेसको पराजयको मुख्य कारण पार्टी सभापति रहेको भन्दै त्यसको नैतिक जिम्मेवारी लिएर राजीनामा दिन उनीहरुले माग गरेका थिए ।

मंगलबारको बैठकमा माइक खोसाखोस हुँदा केही घण्टा बैठक अवरुद्धसमेत भएको थियो ।

Advertisement

Advertisement

Advertisement