काठमाडौं। दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सहभागि हुनका लागि ७० भन्दा बढी प्रदर्शकले सहभागिता निश्चित गरेका छन् ।
विदेशी प्रदर्शकको पनि उल्लेख्य सहभागिता रहने एक्स्पोको तयारी तिब्र पारिएको आयोजकले जानकारी दिएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले आगामी माघ ४ देखि ६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा एक्सपो आयोजना गर्न लागेका हुन्।
एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिकलगायत देशका कम्पनीको सहभागिता रहने छ।जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, विमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रका गरी ७० भन्दा बढी प्रदर्शकले स्टल बुक गरि सकेको अर्को आयोजक संस्था एक्स्पो एण्ड एभेण्ट म्यानेजमेण्ट सर्भिसेजका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए।
आयोजकका अनुसार जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुन लागेको एक्स्पोमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको संरक्षकत्व रहने छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई प्रवद्र्धन गर्ने छन् ।
नेपाल भारत चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिी, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी र पर्यटन बोर्डले एक्स्पोलाई सक्रिय सहयोग गर्ने छन् ।
एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिनुका साथै युवा पुस्तालाई लक्षित गरि हाइड्रोपावर क्षेत्रमा अभिरुची भएकालाई प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने आयोजकको भनाइ छ।
एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्सुरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीको सहभागिता रहने भएकाले सबैले आफ्नो बजार विस्तारका साथै अनुभव आदान प्रदान गर्ने मुख्य केन्द्र बन्ने आयोजकको दाबी छ।