विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी गर्ने

Advertisement

गलकोट।  बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । यसका लागि आयोजनाले केही दिन अघि नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयरसहितको बैठक राखेर छनोटमा परेका स्थानीय तह र गर्नुपर्ने कामको बारेमा जानकारी गराएको नगरप्रमुख पौडेलको भनाइ छ । पौडेलका अनुसार गण्डकी प्रदेशका बागलुङलगायत तनहुँको शुक्लागण्डकी, ब्यास र स्याङ्जाको पुतलीबजार नगरपालिका आयोजना सञ्चालनको लागि छनोटमा परेका छन् । आयोजनाले सूचक तय गरी बजेट बाँडफाँट गर्दा प्रति नगरपालिका करीब रु ७०–८० करोडको बजेट प्राप्त गर्नसक्ने नगरप्रमुख पौडेलले बताए  । बागलुङ नगरपालिकाको रिङरोडको रुपमा परिचित सडक यही आयोजनाको पहिलो चरणमा निर्माण भएको थियो । आयोजनाबाट प्राप्त हुने बजेट नगरपालिकाका गौरवका आयोजनामा खर्च गर्न सक्ने नगरप्रमुख पौडेलले बताए । विश्व बैंकमार्फत नेपाल सरकारले प्रदान गर्ने अनुदान रकमलाई हरेक नगरपालिकाको जनसङ्ख्या, क्षेत्रफल, पूर्वाधारको अवस्था, लागतलगायतका सूचक राखेर बजेट बाँडफाँट गरिने आयोजनाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement