तलब नदिई ठेकेदार भाग्न लागेको भन्दै मेलम्चीका कर्मचारी आन्दोलनमा

Advertisement

मेलम्ची । राजधानी काठमाडौंका वासिन्दाको सपना बन्दै आएको मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीका पदाधिकारीहरु भाग्न लागेसँगै आयोजनाका कर्मचारीहरुसमेत आफ्नो तलब भक्ता माग गरेर कम्पनीको कार्यालयमा धर्ना दिन पुगेका छन् ।

ठेकेदारले आयोजना अलपत्र पारेर भाग्ने प्रयास गरेसँगै मेलम्चीको पानी खाने काठमाडौंवासीको सपना अन्योलमा परिहेको बेला कर्मचारीहरुसमेत आफ्नो पारिश्रमिकका लागि आन्दोलित हुन पुगेका हुन् । उनीहरुले सिएमसीको साइट कार्यालयमा बुधबार धर्ना दिएका हुन् ।

मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले कर्मचारीका मागका विषयमा छलफल गरी टुङ्गो लगाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको कर्मचारीले गुनासो गरेका छन् । कर्मचारीका मागका विषयमा थप छलफल तथा सहमति नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीले बताएका छन् ।

आयोजनाको काम सकिनै लाग्दा ठेकेदार कम्पनीका मानिसहरु क्रिसमसको छुट्टि भन्दै काम छोडेर स्वदेश जान लागेको बेला सरकारले उनीहरुको राहदानी जफत गरेको थियो । आयोजना सम्पन्न हुन लागेको बेला ठेकेदारले काम छोडेपछि पटक पटक आयोजना सम्पन्न हुने समय पर सार्दै आएको सरकारले पनि अन्योलमा परेको छ ।

Advertisement

Advertisement

Advertisement