काठमाडौं । स्वतन्त्र राजनीतिक समूहका नेता हृदेश त्रिपाठीले अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गरेसँगै सरकारप्रति नकारात्मकता बढ्न थालेको टिप्पणी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लबमा त्रिपाठीले अर्थमन्त्रीको गतिविधिले गर्दा वर्तमान सरकारले सोचेअनुरुप काम गर्न नसकेको टिप्पणी गरे । उनले भने, ‘यो सरकारलाई बढि प्रभावित चाहीँ बजेट प्रस्तुतिले पनि गरेको हो । र, अर्थमन्त्रीको गतिविधिले पनि सरकारलाई प्रभावित गरेको छ ।’
अधिकांश सरकारको सफलता र विफलता ५० प्रतिशतभन्दा बढि त अर्थमन्त्रालयको गतिविधिमा निर्भर गर्ने त्रिपाठीको भनाई छ । उनले थपे, ‘बजेट जुन दिन प्रस्तुत हुन्छ, त्यही वेलादेखि चर्चा सुरु हुन्छ । तर, ठाउँमा पुग्न चार–पाँच महिना लाग्छ ।’
नेपालको अर्थतन्त्रको सबैभन्दा कुरुप कुरा नै विकास खर्च पूरा गर्न नसक्नु रहेको त्रिपाठीको भनाई छ । उनले थपे, ‘२०३४ सालदेखि अहिलेसम्म हामीले विकास खर्च कहिल्यै पनि पूरा गर्न सकेनौं । जबसम्म विकास खर्च पूरा हुँदैन, तबसम्म आर्थिक रुपमा बजारलाई चलायमान र जनतालाई पनि विकासप्रति आकर्षित गर्ने काम गर्न सक्दैन् ।’
त्रिपाठीले संसदमा वर्तमान सरकारको संख्यात्मक उपस्थिति बलियो हुँदाहुँदैपनि विकास खर्च गर्न नसकेको आरोप लगाए । उनले भने, ‘सरकारले बरु विकास खर्च गर्न किन सकिएन ? भनेर समीक्षा गर्नुपर्ने हो । कानुनमा त्रुटि छ भने कानुन संशोधन गर्नुपर्यो । यदि संरचनाको अभाव छ भने पनि संरचना निर्माण गर्नुपर्यो । तर, सरकार त्यतातर्फ गएको देखिँदैन् । अहिलेसम्म विकास खर्च पाँच छ प्रतिशतमै अलमलिएर बसेको छ । यदि यही प्रक्रिया कायम रह्यो भने सर्वाधिक कम विकास खर्च हुने आर्थिक वर्ष यही वर्ष सावित हुनेछ ।’
नेता त्रिपाठीले सरकारको गतिविधिबारे स्वयम सत्तारुढ दल नेकपाका नेताहरु पनि सन्तुष्ट नरहेको स्थायी समितिको बैठकबाट प्रष्ट भइसकेको बताए । सरकारसँग समय र संख्याको अनुकुलता रहेकोले आगामी दिनमा यसले आफ्नो प्रस्तुतिलाई सच्याएर सही दिशामा अघि बढ्नेमा आफू विश्वस्त रहेको उनले जनाए ।
संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग तराई मधेसका जनता निराश भएको पनि त्रिपाठीले टिप्पणी गरे । उनले भने, ‘फोरम अहिले सरकारमा छ, तर उसको प्रस्तुतिले गर्दा जनता निराश छन् । उता, राजपा पनि आन्तरिक विवादमा फसेको छ । दुवै पार्टीले मधेसका जनतालाई निराशा बनाए ।’
आफूहरु अब आफ्नो समूहलाई जनतासँग जोड्ने पक्षमा रहेको पनि त्रिपाठीले विश्वास दिलाए । सँगसँगै नेकपासँगको वार्ता पनि सकारात्मक रहेकोले यसलाई तार्किक निश्कर्षमा पुर्याउनेतर्फ आफूहरु गम्भिर रहेको उनले बताए ।
सांसद त्रिपाठीले किसानले उत्पादन गरेका कृषिउपजको मूल्य निर्धारण गर्नको लागि तत्काल आयोग गठन गर्नुपर्ने माग गरे । उनले भने, ‘किसानले आफ्ना उत्पादनको मूल्य निर्धारण गर्न पाउँदैनन् । यसले गर्दा अहिले किसानको दुरावस्था छ । अब तत्काल मूल्य निर्धारणबारे विज्ञसम्मिलित आयोग गठन गर्नुपर्छ ।’
नेता त्रिपाठीले विगत २०३४ सालदेखि यताको तथ्यांक हेर्दा कृषि मन्त्रालयको कुल बजेटको १८ प्रतिशतमात्रै किसानको लागि खर्च हुने गरेको र बाँकी ८२ प्रतिशत बजेट किसानको नाममा तामझाममा सिध्याउने गरेको आरोप लगाए । सरकार र कुनै पनि दलहरुको प्राथमिकतामा किसान वर्ग पर्न नसकेको उनले गुनासो पोखे । उनले भने, ‘सरकारले कृषिमा जोड गरेको छ । तर, किसानको हितको लागि होईन । यो त नाराको लागि गरेकोजस्तो मात्रै भयो ।’
किसान असंगठित भएकाले दलहरुले प्राथमिकता नदिएको त्रिपाठीको टिप्पणी छ । उनले भने, ‘सबैभन्दा ठूलो संख्यामा रहेको किसान वर्ग, जो ६४ प्रतिशत छन्, कांग्रेस र नेकपा दुवैको प्राथमिकतामा किसान परेनन् । यो दुःखदायी कुरा हो ।’ कृषिमा विचौलियाका कारण किसान र उपभोक्ता दुवै वर्ग मारमा परेको पनि उनले बताए । किसानहरुले आफ्नो उत्पादनको मूल्य तोक्न पाउनुपर्ने गरि आफूले संसदमा संकल्प प्रस्तावसमेत दर्ता गराईसकेको उनले जानकारी दिए ।
नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सकिने त्रिपाठीको दाबी छ । उनले भने, ‘चिनी, दुध, चियापत्ति, दाल, चामल, तोरीको तेल, फलफलु, अदुवालगायत अन्य कृषिउपजमा नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ ।’ गत वर्ष नेपालमा ९४ करोडको ‘टम्याटो–सस’ आयात गरिएको तथ्यांक पेश गर्दै त्रिपाठीले नेपालमा भने किसानले टमाटरको उचित मूल्य नपाएर सडकमै फाल्नु परेको दुरावास्था सुनाए ।