प्रहरीले यातना दिँदै मार्छु भनेपछि अपराध स्वीकार गरेंः विशाल चौधरी

Advertisement

काठमाडौं । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी फेरि पनि असफल भएको छ । पछिल्लोपटक दुई किशोर प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान चलाएको प्रहरीले डिएनए नमिलेपछि विशाललाई छाडिदिएको छ । यद्यपि, प्रहरीले डिएनए रिपोर्ट सार्वजनिक भने गरेको छैन ।

प्रहरी नेतृत्वले उनीहरूको रिपोर्टबारे सूचना पाएपछि विशाललाई छाडेको उच्च स्रोतले बतायो । डिएनए रिपोर्ट कञ्चनपपुर पुगिसकेको पनि प्रहरी स्रोतले जनायो । प्रदीप भने महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमै छन् ।

कञ्चनपुर प्रहरीले भने डिएनए रिपोर्ट प्राप्त नभएको जनाएको छ । ‘उतैबाट भेरिफाई गरेर विशाललाई छाडेको होला । आजसम्म दुवैको रिपोर्ट यहाँ आएको छैन,’ कञ्चनपुर प्रहरी प्रवक्ता कृष्णराज ओझाले बताए ।

विशाल र प्रदीपले निर्मलाको हत्या आफूहरू मिलेर गरेको साविती बयान प्रहरीलाई दिएका थिए । कञ्चनपुरकै भीमदत्त नगरपालिका–१८ सालघारीका १६ वर्षीय विशालले बुबाकै अगाडिसमेत अपराध स्विकार गरेका थिए ।

विशाल परिवारको जिम्मामा
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विशाललाई साधारण तारेखमा छाड्न शुक्रबार नै आदेश दिएको थियो । उनलाई शनिबार जहाजबाट कञ्चनपुर पुर्याएर प्रहरीले आफन्तको जिम्मा लगाएको छ । बालबालिका समन्वय केन्द्र काठमाडौंका कार्यक्रम सहायक सन्तोष चन्द, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक नरेन्द्र भण्डारी र प्रहरी जवान रमेश पन्तको रोहबरमा बाबु वीरबहादुर चौधरीलाई विशालको जिम्मा लगाइएको छ ।

पहिल्यै छुटेका थिए विशालसँगै पक्राउ परेका दिनेश
१८ मंसिरमा काठमाडौंबाट पक्राउ परेको भगतपुरका प्रदीपले प्रहरीलाई दिएको बयानका आधारमा विशाल र उनका साथी निदेश चौधरी कञ्चनपुरमा पक्राउ परेका थिए । उनीहरूलाई तत्काल काठमाडौं झिकाइएकोमा दिनेश केही दिनमै छुटेका थिए ।

प्रहरी सुरुमा उत्साही, अहिले निराश
प्रदीप र बिशाल पक्राउ परेपछि प्रहरी उत्साहित भएको थियो । घटनास्थलको अवस्था र उनीहरूको भनाई ठ्याक्कै मिलेको प्रहरीको भनाई थियो । त्यसैले सोधपुछमा आइजिपी सर्वेन्द्र खनाल आफैं खटिएका थिए । अनुसन्धान सफल हुने ठानेर नै प्रहरीले दुवैलाई हिरासतमै राखेर अनुसन्धान अघि बढाएको थियो । तर, अपराध स्वीकार गरेका उनीहरूविरुद्ध प्रहरीले पर्याप्त प्रमाण संकलन गर्न सकेन । १८ दिनपछि विशाल छुटेका छन् ।

प्रदीप र बिशालको डिएनए रिपोर्टबारे आफूलाई जानकारी नभएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का निर्देशक डिआईजी निरज शाही बताउँछन् । अभियुक्त पत्ता नलागेसम्म अनुसन्धानमा आफूहरू निरन्तर लाग्ने उनले बताए ।

सैनिकको पनि डिएनए परीक्षण
प्रहरीले निर्मला हत्या प्रकरणमा सैनिकलाई पनि अनुसन्धानको दायरामा ल्याएको छ । स्रोतका अनुसार १० साउनमा ब्यारेकबाट निस्किएका चार सैनिकको डिएनए परीक्षणका लागि रगतको नमूना लिइएको छ । १० साउनमा साथीको घर गएकी निर्मलाको भोलिपल्ट नजिकैको उखुबारीमा शव भेटिएको थियो ।

हालै प्रहरीले डिएनए परीक्षणका लागि रगत लिएका १६ मध्ये चारजना सैनिक रहेको स्रोत बताउँछ । ‘सेनाले अनुसन्धानमा सहयोग गरिरहेको छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘ठूलो संख्यामा डिएनए परीक्षण अघि बढेको छ, थप सैनिकको पनि नमूना लिन सक्छौं ।’

निर्मलाको शव भेटिएको स्थानबाट करिब तीन सय मिटरमा सेनाको बाहिनी छ । त्यसकारण कतिपयले सैनिक पनि घटनामा संलग्न भएको हुनसक्ने आशंका गरिएको छ । यसअघि तत्कालीन एसपी दिल्लीराज बिष्टसहित नौ जनाको डिएनए परीक्षण गरिएको थियो ।

घटनाको प्रारम्भिक अुनसन्धानमा प्रहरीले चरम लापरबाही गरी नक्कली अभियुक्त खडा गर्न खोजेपछि घटनामाथि सर्वसाधरणले प्रहरीमाथि प्रश्न उठाइरहेका छन् । एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले समेत घटनामा १८ प्रहरीको लापरबाही र गलत नियत देखिएको भन्दै कारबाही गर्न सिफारिस गरिसकेको छ ।

यातना दिएपछि अपराध स्वीकारेँः विशाल चौधरी
छुटेका विशालले कञ्चनपुर प्रहरीले यातना दिएपछि डरले अपराध स्वीकार गरेको बताएका छन् । परिवारको सम्पर्कमा पुगेपछि उनले कञ्चनपुरमा प्रहरीले आफूमाथि यातना र धम्की दिएको बताए । कहिले भने प्रलोभनसमेत देखाएर अपराध स्विकार्न लगाएको उनको भनाइ छ । ‘मलाई काठमाडौंमा सोधपुछ मात्रै गरेको हो, तर कञ्चनपुरमा यातना, धम्की र प्रलोभन देखाइयो ।’ प्रहरीले मारिदिने धम्की दिएपछि डरले प्रहरी र बाबुको अगाडि अपराध स्वीकार गरेको बताए ।

आजको नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement