कच्चापदार्थको मूल्य अकासिएको भन्दै दानाको मूल्य बढाइयो, कुखुरापालक किसान मारमा

Advertisement

भरतपुर । कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी दुई रुपियाँ ५० पैसाका दरले मूल्य बढाएको हो ।

दाना उत्पादनमा प्रयोग हुने आवश्यक कच्चा सामग्री र भिटामिनको मूल्य बढेकाले दानाको मूल्य बढाएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए । कुखुराको दाना बानाउन मकै, भटमास पिना लगायतको कच्चापदार्थ आवश्यक हुन्छ । असीदेखि ८५ प्रतिशत मकै, भटमास र पिना भारतबाट आयात हुने गरेको छ ।

“भटमास नेपालमा भुटेर खानसमेत पुग्दैन”, पुरीले भने, “सय प्रतिशत नै भटमास पिना भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।” नेपालमा उत्पादित मकैले ३० प्रतिशत मात्रै माग पूर्ति गर्ने भएकाले ७० प्रतिशत मकै भारतबाटै आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

“दानाको मूल्य बढेर किसानलाई मार पर्ने कुरा स्वभाविक हो”,पुरीले भने, “यसमा हामीले गर्नसक्ने अवस्था केही छैन् सरकार नै उत्पादन बढाउनतर्फ लाग्नुपर्छ ।” दाना बनाउन ६० प्रतिशत मकै र २५ प्रतिशत भटमास पिना आवश्यक हुन्छ ।

ब्रोइलर कुखुराको दाना (बिपिएच) थोक मूल्य प्रतिकिलो ५४ रुपैयाँ ३० पैसाबाट बढेर ५६ रुपैयाँ ८० पैसा पुगेको छ । यस्तै बिवान दाना ५० रुपैयाँ १० पैसाबाट बढेर ५२ रुपैयाँ ३० पैसा पुगेको छ भने बिटु दाना ४९ रुपैयाँ १० पैसाबाट बढेर ५१ रुपैयाँ ६० पैसा पुगेको छ । लेयर्स कुखुराको तीन नम्बरको दाना ४३ रुपैयाँ ४० पैसाबाट बढेर ४५ रुपैयाँ ९० पैसा पुगेको छ ।
यो समयमा काठमाडौँमा गतवर्ष २६÷२७ रुपैयाँ किलोमा पाइने मकै यसवर्ष ३७ रुपैयाँ प्रतिकिलो पुगेको छ । ढुवानीका कारण चितवनमा एक रुपैयाँ सस्तो अर्थात ३६ रुपैयाँमा पाइन्छ । मकैमा प्रतिकिलो १० रुपैयाँ र प्रतिटन छ हजार रुपैयाँले बढेको छ ।

यसवर्ष मकैको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै वृिद्ध भएको दाना उद्योग सङ्घका पूर्व अध्यक्ष एवं कुखुरापालन विज्ञ डा तिलचन्द्र भट्टराईले बताए । “भारतमा यसवर्ष मकैको मूल्य अकासिएको छ”, उनले भने, “विभिन्न देशमा निर्यात गर्ने भारतले यसवर्ष आफैँ मकै आयात गरिरहेको छ ।” दाना उद्योगमा सधैँ भारतको भर पर्नु परेका कारण समस्या सिर्जना हुने गरेको भट्टराईको भनाइ छ ।

यस वर्षदेखि सरकारले दाना उद्योगलाई दिँदै आएको भन्सार छुट हटाएका कारण पनि मूल्य बढेको उनले बताए । दाना उद्योगलाई कच्चा सामग्री आयातमा पाँच प्रतिशत भन्सारमा ३.६ प्रतिशत छुट दिँदै आएको थियो । सरकारले यस वर्षदेखि भन्सार छुट कटौती गरेपछि कच्चा सामग्री प्रतिकिलो एक रुपैयाँ ५० पैसाले महङ्गो पर्न गएको भट्टराईले बताए । सरकारले मकै उत्पादन गर्ने वातावरण बनाउन सके बजारको जिम्मा आफूहरूले लिने उनको भनाइ छ ।

नेपालमा दैनिक तीन हजार मेट्रिकटन दाना खपत हुन्छ । गतवर्ष मात्र रु ३० अर्बको मकै, भटमास आयात भएको थियो । नेपालमा साना ठूला गरी एक सय पाँचवटा कुखुराको दाना उद्योग छन् ।

Advertisement

Advertisement

Advertisement