नयाँ वर्ष मनाउन सबैको रोजाइमा पोखरा, होटल बुकिङ तीब्र

Advertisement

काठमाडौं । नजिकिँदै गरेको अङग्रेजी नयाँ वर्षका अवसरमा पर्यटकीय नगरी पोखराका होटलहरू बुकिङ हुन थालेको छ । विगत केही वर्षयता पोखरा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएका कारण अङग्रेजी नयाँ वर्षले त झन पोखरालाई पर्यटकीय पहिचान नै बनाइसकेको छ ।

यसबेला आउने विदेशी पर्यटकका साथै नेपालस्थित विभिन्न कुटनीतिक नियोगमा काम गरिहेका विदेशी कर्मचारी समेतको रोजाइ पोखरा नै पर्ने भएका कारण यो याममा विदेशी पर्यटक पनि उल्लेख्य संख्यामा पोखरा आउने गरेको पश्चिमाञ्चल होटेल संघका पूर्वअध्यक्ष भरतराज पराजुलीले बताएका छन ।

‘अङग्रेजी नयाँ वर्षमा पोखरा जानुपर्छ भन्ने सोचका साथ देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटक यहाँ आउने गरेका छन,’ उनले भने । ‘पछिल्ला केही वर्षयता अङ्ग्रेजी नयाँ वर्षका लागि पोखरा नै सबैको रोजाइ बनिसकेको छ ।’ अध्यक्ष पराजुलीका अनुसार पर्यटकलाई लक्षित गरी यहाँ होटेलको संख्या वृद्धिका साथै अन्य पूर्वाधार निर्माणले समेत गति लिइरहेको छ ।

हालसम्म यहाँका होटल व्यवसायमा १ खर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको छ । पोखरा उपत्यकामा मात्र प्रतिदिन २५ हजार पर्यटक बस्नसक्ने बताउँदै उनले आसपासका सराङकोट, बेगनास, पुम्दी, धम्पुसलगायत स्थानसमेत गरी दैनिक ४० हजार पर्यटक बस्नसक्ने क्षमता रहेको जानकारी दिएका छन ।

अङग्रेजी नयाँ वर्षलाई लक्षित गरी अग्रिम बुकिङ सुरु भइसकेको र साना तथा मझौला होटेलमा करिव ३० प्रतिशत बुकिङ भइसकेको छ । पर्यटन व्यवसायीहरूका अनुसार अङग्रेजी नयाँ वर्षमा यहाँका झण्डै ९० प्रतिशत भन्दा बढी होटेलका कोठा बुकिङ हुनेगरेको छ ।

होटलमा बुकिङको क्रम सुरु भइसकेको बताउँने नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष एवं होटल पोखरा बाटिकाका सञ्चालक सन्तोष पोखरेलले यस अवसरमा सम्पर्कमा आएका पर्यटकले साविककै दरमा होटेलका कोठा बुकिङ गरिरहेको बताएका छन ।

अङग्रेजी नयाँ वर्षमा आउने पर्यटकले सामान्यतः तीन दिनका लागि कोठा बुकिङ गर्ने गरेका छन, उनले भने । त्यस अवसरमा हुने सडक महोत्सवका साथै आयोजना गरिने अन्य पर्यटकीय गतिविधि, साहसिक पर्यटन, दृश्यावलोकनजस्ता कार्यक्रमले पोखरा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताएका छन ।

यस समयमा आउने पर्यटक पोखराको सडक महोत्सवमा रमाउँछन भने फेवातालमा डुङ्गा खियाउने, सराङकोटबाट प्याराग्लाइडिङका साथै जिप फ्लाइमा पनि मनोरञ्जन लिन्छन । अङग्रेजी नयाँ वर्षलाई लक्षित गरी आउने पर्यटकले सामान्यतः डिसेम्बर ३० देखि ३-४ दिनसम्म पोखरामा बिताउने गरेको नेपाल ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका द्वितीय उपाध्यक्ष एवं होटेल एशियाका सञ्चालक धर्म पन्थीले बताए ।

होटेल एशियामा डिसेम्बर ३० र ३१ का लागि ५० प्रतिशत कोठा बुकिङ भइसकेको जानकारी दिँदै उनले अङग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा पोखरेली पर्यटकको स्वागतको पर्खाइमा रहेको बताएका छन ।

Advertisement

Advertisement

Advertisement