लामो समयपछि सेयर बजारमा भारी वृद्धि, नेप्से ३२ अंकले बढ्दा साढे ८७ करोडको कारोबार

Advertisement

काठमाडौं । सेयर बजारमा लामो समयपछि उत्साहजनक वृद्धि आइतबार भएको छ । बैंकहरुले ब्याजदरमा कमी गर्दै एकल अंक प्रतिशत कायम गरेपछि सेयर बजारमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ ।

आज सेयर बजार परिसुचक नेप्से ३२ अंकले बढ्दा ८७ करोड ५५ लाख रुपियाँको सेयर किनबेच भएको छ । नेप्सेमा यो दुई दशमलव ७७ प्रतिशतको वृद्धि हो । बैंकहरुको नाफा सन्तोषजनक, संचित कोषमा राम्रो बचत, धितोपत्र बोर्डले लगानी गर्न गरेको आग्रह, अनलाइन कारोबार प्रणालीको सुरुवात, भ्याटको अन्योलताको अन्त्य जस्ता कारणले समेत सुधार हुन नसकेको सेयर बजार बैंकको ब्याजदरमा आएको कमीले सुधार भएको छ ।

यद्यपि यो सुधार कायम हुन्छ हुँदैन भन्ने आशंका भने कायमै छ । सेयर विश्लेषकहरु भने अब घट्ने ठाउँ नरहेकोले बढ्नुको उपाय नभएको तर्क गर्छ । सेयर बजारमा सुधार आएसँगै लामो समयदेखि निराश र तनावमा रहेका लगानीकर्ताहरुमा उत्साह देखिएको छ ।

आज सबैभन्दा बढि सनराइज बैंकको संस्थापक सेयर किनबेच भएको छ । यो सेयर आठ करोड १७ लाख रुपियाँको किनबेच भएको हो । त्यसपछि धेरै कारोबार एनएमबि बैंकको छ । उसको सात करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ ।

समूहगत कारोबारतर्फ नेपालको पुँजीबजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको उपसुचक दुई दशमलव ४३ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको उपसुचक झण्डै छ प्रतिशतले बढेको छ भने वित्त र जीवन बीमा समूहको सेयर चार प्रतिशतभन्दा बढिले बढेका छन् । होटल समूहको उपसुचक तीन दशमलव ७४ प्रतिशतले बढेको छ । सबै समूहका उपसुचकहरु बढ्दा पनि उत्पादनमूलक समूहको सेयर भने घटेको छ ।

Advertisement

Advertisement

Advertisement